काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बिमा गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको कोरोना बिमा गर्ने भएको हो ।
पुरुष खेलाडीको कोरोना बिमा गर्ने तयारी गरिरहेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । ‘अवस्था हेरेर राष्ट्रिय टोलीको बन्द प्रशिक्षण गर्ने योजना छ,’ उनले भने, ‘हाललाई पुरुष खेलाडीको कोरोना बिमा गर्छौं ।’ सिनियर पुरुष टोलीको खेलाडीको कोरोना बिमा गर्ने क्यानको योजना छ ।
अग्रभागमा काम गर्ने कर्मचारीको समेत क्यानले कोरोना बिमा गर्ने जनाएको छ । ‘सरकारको निषेधाज्ञाको घोषणाले बिमा गर्न ढिलाइ हुन्छ,’ प्याकुरेलले भने ।
क्यानले खेलाडी, खेल मैदानका कर्मचारी, कार्यालयका कर्मचारी, फिजियोलगायतको कोरोना बिमाको प्रक्रिया अगाडि बढाएको छ । कोरोनाका कारण क्रिकेट खेलाडी लामो समयदेखि प्रशिक्षणबाट वञ्चित छन् । यही भदौ १ गतेदेखि थाल्ने भनिएको प्रशिक्षण सरकारको निर्देशनपछि हाललाई स्थगित गरिएको छ ।