काठमाडौं– रामपुर बगनासकाली गाउँपालिका१ माडीफाँटका कृषक एकदेव पाण्डेय खुर्सानीले बजार नपाउँदा समस्यामा परेका छन् । खुर्सानी बेचेर दुई लाखभन्दा बढी आम्दानी हुने अनुमान गरिए पनि यस पटक बजार भाउ मूल्य नहुँदा लागत सस्तोमा बिक्री गर्नुपरेको उनको गुनासो छ ।
उनले करिब साढे दुई रोपनी जग्गामा खुर्सानी लगाएका छन् । अघिल्लो वर्ष प्रतिकिलो ९० देखि १०० मा खुर्सानी बिक्री गरेका पाण्डेयले यस पटक मुस्किलले २० देखि २५ मा बेच्नु पर्दा कृषकलाई सित्तैमा बेच्नु सरह जस्तै भएको बताउँछन् । ‘खुर्सानीका बोट र उत्पादन राम्रै थियो, बजारमा बिक्री गर्न खोज्दा अघिल्लो वर्षको तुलनामा आधा पनि मूल्य पाउन सकिएन, कतिपय खुर्सानी बजार नपाएर बोटमै पनि कुहिएर गयो’, पाण्डेयले बताए ।
खुर्सानीले बजार नपाउँदा खेती गर्ने उत्साह नै हराउँदै गएको बगनासकाली१ चिलाङ्दीका कृषक कपिल ढुङ्गाना बताउँछन् । उनले दुई वर्षदेखि दुई रोपनीमा खुर्सानी खेती गर्दै आएका छन् । बगनासकाली गाउँपालिकाले वडा नं १ चिर्तुङ्गधारा क्षेत्रमा खुर्सानीको पकेट क्षेत्र विस्तार कार्यक्रम शुरु गरेको छ । यहाँका ९० जना कृषक यस व्यवसायमा आबद्ध छन् भने करिब ६० रोपनी क्षेत्रफलमा खुर्सानी लगाइएको छ ।
गतवर्ष गाउँपालिकाले खुर्सानी खेती बिस्तार कार्यक्रमका लागि प्राङ्गारिक मल, बीउ, मल्चिङ्ग प्रविधि सहयोग गरेको कृषि शाखा प्रमुख राजेश बोहराले जानकारी दिए । माथागढी गाउँपालिका४ झडेवा क्षेत्रमा छ वटा समूहमा व्यावसायिक रुपमा नै खुर्सानी खेती थालिएको छ । गतवर्षदेखि गाउँपालिकाले यो क्षेत्रलाई खुर्सानी पकेट क्षेत्रका रुपमा बिस्तार गर्ने गरी कार्यक्रम सञ्चालन गरिएको छ ।
गाउँपालिकाले गत वर्षमा दुई लाख बजेटबाट कृषकलाई जैविक मल, खुर्सानीका बीउ वितरण गरिएको र यसवर्ष खुर्सानी पकेट क्षेत्र विस्तार कार्यक्रमका लागि एक लाख रकम विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले बताए । यहाँ करिब ६० रोपनी क्षेत्रफलमा खुर्सानी खेती गरिएको छ भने यस खेतीमा एक सय कृषक आबद्ध रहेको कृषि शाखा प्रमुख सीता खाम्चा मगरले बताए ।
गाउँपालिकामा यसपटक पकेट क्षेत्र कार्यक्रमअन्र्तगत लगाइएको खुर्सानी करिब ३५ हजार किलो उत्पादन भइसकेको छ । बजार मूल्य नहुँदा अघिल्लो वर्षको तुलनामा आधाभन्दा कम मूल्य नै घटाएर बिक्री गर्न कृषक बाध्य बनेका छन् ।