काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी साधनको नम्बर प्लेटमा देवनागरी लिपि प्रयोग गराइने बताएका छन् । बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सो विषयमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री ओलीले सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्न सम्बन्धित मन्त्रालय र निकायसँग परामर्श गर्ने बताएका हुन् ।
ओलीले भने, ‘यसमा भाषा, सुरक्षा संवेदनशीलता र आर्थिकको समेत कुरा जोडिएकोले यसप्रति आफू गम्भीर छु ।’
कुलपति उप्रेतीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै भने, ‘हाइ सेक्युरिटी इम्बोस्ड भेहिकल नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोगले नेपाली भाषा, राष्ट्रिय सुरक्षा, राष्ट्रियता, संविधान र मौलिकताको संरक्षण गर्छ ।’
नेपाल सरकारको निर्णयानुसार २०७४ भदौ ५ गतेदेखि सवारी साधनमा अंग्रेजी भाषामा इम्बोस्ड नं प्लेट राख्न सुरु गरिएकामा सोविरुद्ध सर्वोच्च अदालतबाट गत २०७६ मंसिर २७ गते अन्तरिम आदेश जारी भइसकेको छ ।
नेपालको संविधानको धारा ७ को उपधारा ९१० मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने छ भनी प्रस्ट उल्लेख छ । हालसम्म नेपालमा कूटनीतिक नियोगका सवारी साधनबाहेक सरकारी, संस्थान, सार्वजनिक र निजी सवारी साधनमा राखिने नम्बर प्लेट देवनागरी लिपिमा नै लेखाएर राख्ने गरिएको पनि कुलपति उप्रेतीले बताए ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ का कारण तत्काल बजेट अभाव भए पनि आगामी दिनमा सो कार्यक्रममा आवश्यक बजेट उपलब्ध हुने आश्वासन दिएका छन् ।