वीरगन्ज– पर्सामा बिहीबार ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जसहित अन्य स्थानीय पालिकाहरुमा गरी १० महिलासहित थप ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिकाका विभिन्न वडामा ३२, धोबिनी गाउँपालिकामा ३, पोखरिया नगरपालिकामा १५ र पकहाँमैनपुर गाउँपालिकामा ५ जना गरी ५५ जना संक्रमित थपिएका हुन् ।
जिल्लामा संक्रमितको संख्या बढेर १६ सय ६१ पुगेको छ भने संक्रमणका कारण जिल्लाका २४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनामुक्त भएर ३ सय ३८ जना घर फर्किसकेका छन् ।
आइसोलेसन सेन्टरहरुमा १ सय ३६ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ६ सय २३ जना रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
त्यस्तै, हालसम्म १६ हजार ९ सय ९५ जनाको आरटी–पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । बिहीबार मात्रै ३ सय ९ जनाले कोरोना परीक्षणका लागि आफ्नो स्वाब जम्मा गराएका छन् ।