दमौली– तनहुँको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई गत साउन २८ गते कोरोना संक्रमण भयो । साउन २२ गते भरतपुर अस्पतालमा स्वाब परीक्षण गराएका पौडेलको कोरोना पोजिटिभ देखिएको थियो ।
त्यस दिनदेखि होम आइसोलेसनमा बसेका पौडल बुधबार निको भएका छन् । पोखरामा गरिएको स्वाब परीक्षणमा उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
पौडेल आत्मबलले कोरोनालाई परास्त गर्न सकिने बताउँछन् । ‘कोरोना संक्रमण भएको दिनदेखि म घरमै छुट्टै सुरक्षित रुपमा बसिरहेको थिएँ, घरमा बस्दा खासै समस्या देखिएन,’ पौडेलले भने, ‘निरन्तर स्वास्थ्यकर्मीको निगरानीमा थिएँ ।’
पौडेलले कोरोना संक्रमण भए पनि औषधि भने प्रयोग नगरेको जानकारी दिए ।
‘बाफ लिएँ, कागती पानी र बेसारपानी पिएँ, नियमित भोजन ग्रहण गरेँ,’ उनले भने, ‘एक दिन सामान्य रुघा लागेको थियो तर खास समस्या भएन ।’
पौडेलको सुझाव छ– हिँडडुल गर्दा, अररूसँग उठबस गर्दा कोरोना सर्ने भएकाले भौतिक दूरी कायमै गर्नपर्छ । उनले भने, ‘अहिलेको अवस्थामा बाहिर नहिँडेर घरमै बस्दा सुरक्षित भइन्छ ।’