काठमाडौं– बनेपा नगरपालिकाले आफ्नो क्षेत्रमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि ५० बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेको छ । बनेपा प्राविधिक शिक्षालय भवनका चार कक्षा कोठामा ओसोलेशन बेड व्यवस्थित गरिएको हो । नगरका हाल १७ सङ्क्रमित रहेको र त्यो सङ्ख्या बढ्न सक्ने भएकाले ठूलो सङ्ख्यामा आइसोलेशन कक्ष तयार गरिएको नगरप्रमुख लक्ष्मीनरसिं वादे श्रेष्ठले बताए । ‘पूर्व तयारीस्वरुप स्थानीयस्तरमै आइसोलेशन कक्ष व्यवस्थित गरेका हौँ’ उनले भने । नगरका सङ्क्रमित हाल शिर मेमोरियल अस्पताल, धुलिखेल अस्पताल तथा घरमै ‘सेल्फ आइसोलेशन’ रहेका छन् ।
भवनको कक्षमा ‘नर्सिङ स्टेशन’ बनाइएको छ । नगरले अस्पताल र घरमा बसेका सङ्क्रमितलाई हाल व्यवस्थित आइसोलेशनमा लैजाने तयारी गरिरहेको छ । आइसोलेशन कक्षमा इन्टरनेट सुविधाका साथै सीसी क्यामेरा जडान गरिएको छ ।
५० बेडको आइसोलेशन कक्षका लागि बनेपामा युवा व्यवसायी रत्नकुश र रञ्जितले २० वटा बेड सहयोग गर्नुभएको छ । रञ्जितले बुधबार उक्त बेड नगरप्रमुख श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । वादेले आइसोलेशनमा बस्ने सङ्क्रमितका लागि स्थानीय पार्टी प्यालेसबाट खाना व्यवस्थापन गरिएको बताए ।
काभ्रेपलाञ्चोकमा २०७६ चैत महिनायता १३ स्थानीय तहमध्ये पाँचले मात्रै १०० बेडको आइसोलेशन व्यवस्थित गरेका छन् । जसमध्ये बनेपा नपामा ५०, धुलिखेलमा ३१, पनौतीमा छ, पाँचखालमा सात र नमोबुद्ध नगरमा छ आइसोलेशन बेड व्यवस्थित गरिएको हो । अन्य आठ स्थानीय तहले हालसम्म आइसोलेशन कक्ष व्यवस्थित गरेका छैनन् ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले अन्य स्थानीय तहलाई पनि आइसोलेशन कक्ष ब्यवस्थित गर्न आग्रह गर्दै आएको छ ।