काठमाडौं - कोरोना जोखिम बढेपछि तनहुँका तीन वटा पालिकाले लकडाउन घोषणा गरेका छन् । बन्दीपुर, देवघाट गाउँपालिका र भानु नगरपालिकाले आ–आफ्नो पालिकाभित्र लकडाउन घोषणा गरेका हुन् ।
बन्दीपुर गाउँपालिकाले शुक्रबारदेखि भदौ ५ गतेसम्म अत्यावश्यक सेवा बाहेकका सबै पसल, बैङ्क तथा वित्तीय संस्था लगायत बन्द गर्ने निर्णय गरेको अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।
“स्थानीय स्तरमा तीव्र रुपमा फैलिएको कोभिड–१९ का कारण बन्दीपुर गाउँपालिकाभित्रका बजार, बस्ती उच्च जोखिममा रहेको छ,” उनले भने, “यसैलाई मध्यनजर गर्दै एक हप्ताका लागि सम्पूर्ण क्षेत्र बन्द गरेर लकडाउन घोषणा गरेका छौ ।”
भानु नगरपालिकाले साउन २७ गतेदेखि भदौ २ गतेसम्म र देवघाट गाउँपालिकाले साउन २८ गतेदेखि भदौ ४ गतेसम्म पालिकामा लकडाउन गर्ने निर्णय गरेको छ । रासस