काठमाडाैं– काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकलाई पिसिआरको पछि नलाग्न सुझाएका छन् । काठमाडौंको श्रीघःस्थित धर्मकीर्ति विहारमा आयोजित कार्यक्रममा शाक्यले पिसिआर औषधी नभएकाले यसको पछि नलाग्न सुझाएका हुन् ।
उनले भने, ‘पिसिआर गर्दैमा रोग नलाग्ने पनि होइन । अहिले पिसिआर गरेर हामी कतै गयौं भने त्यहाँ कुनै संक्रमित भेटिए फेरि संक्रमण हुन सक्छ ।’
- पिसिआर गर्दा चाहिने जम्मै सामान विदेशबाट ल्याउनुपर्छ । यसबाट हाम्रो पैसा बाहिर गयो ।
त्यस्तै, उनले पिसिआर गर्दा प्रतिव्यक्ति १० हजार खर्च भएको बताए । उनले भने, ‘पिसिआर गर्दा चाहिने जम्मै सामान विदेशबाट ल्याउनुपर्छ । यसबाट हाम्रो पैसा बाहिर गयो ।’
- ‘पिसिआर गराउनु पर्यो भनेर अनशन बसेर आफैं हुलमुल गरिरहेका छन् । हुलमुल भएपछि कोरोना आफैं बढेर जान्छ,’ शाक्यले भने ।
‘पिसिआर गराउनुपर्यो भनेर अनशन बसेर आफैं हुलमुल गरिरहेका छन् । हुलमुल भएपछि कोरोना आफैं बढेर जान्छ,’ शाक्यले भने ।
उनले मास्क आफू र अरुको सुरक्षाका लागि उपयोगी हुने बताए । उनले भने, ‘मास्क आफू सुरक्षित हुनलाई मात्र होइन, अरुलाई सुरक्षित गर्नलाई पनि हो । यो अवस्थामा हामी आफैंं सुरक्षित नहुने हो भने सरकारले चाहेर पनि कोरोना संक्रमण नियन्त्रण गर्न सक्दैन ।’
काठमाडौं महानगरपालिकाले उपत्यकाभित्र छिर्न दिएन भनी आलोचना भएको प्रसंग निकाल्दै शाक्यले भने, ‘त्यति बेला काठमाडौंभित्र आउन दिइएन भनेर आलोचना भयो । पछिल्लो समय धेरै मान्छेहरू उपत्यका छिर्न थालेपछि थप समस्या आयो ।’
- त्यति बेला काठमाडौं आउन दिइएन भनेर आलोचना भयो । पछिल्लो समय धेरै मान्छेहरू उपत्यका छिर्न थालेपछि थप समस्या आयो ।
शाक्यले थपे, ‘सरकारले जे गर्दा पनि सडकमा जुलुस आइहाल्छ । तर जुलुस निकाल्दैमा कोरोना भाग्ने त होइन । जुलुस सँगसँगै कोरोना निस्कन सक्छ भनेर हामी सचेत हुनुपर्छ ।’
काठमाडौं महानगरपालिका वडा नम्बर २५ को श्रीघःस्थित धर्मकीर्ति विहारमा बौद्ध परियति शिक्षाका विद्यार्थीलाई पुरस्कार वितरण गर्दै शाक्यले कामपाले विभिन्न थेरवादी तथा वज्रयानी विहारहरू निर्माण गर्न आवश्यक सहयोग पुर्याउँदै आएको बताए । काठमाडौं महानगरपालिकाले उक्त विहारलाई बौद्ध परियति शिक्षाकाका लागि ५ लाख सहयोग गरेको थियो ।