काठमाडौं– डेढ महिनामै सुनको मूल्य ८ हजार ४ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २५ जेठयता (डेढ महिनामा) सुनको मूल्य झन्डै ८ हजार ४०० ले वृद्धि भएको हो ।
महासंघले २५ जेठमा छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार ६९० रहेको बताएको छ ।
११ चैतदेखि बन्दाबन्दी घोषणा भएपछि महासंघले सुनचाँदीको मूल्य निर्धारण गरेको थिएन । बन्दाबन्दी केही खुकुलो भएसँगै २५ जेठदेखि महासंघले दैनिक रूपमा सुनको मूल्य तोक्दै आएको छ ।
महासंघले. आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३६५ तोकेको छ ।
सुनको मूल्य वृद्धिका कारण
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा प्रभाव देखिएको महासंघका अध्यक्ष मोहनकुमार सुनारले बताए । विश्व बजारमा आज सुनको मूल्य प्रतिऔंस १ हजार ९०१ डलर पुगेको छ । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा सुनको मूल्य बढेको बताए ।
कारोबार ठप्प
दैनिक सुनको मूल्य वृद्धि हुँदै गएपछि कारोबार भने ठप्प भएको छ ।
‘नेपाली बजारमा कोरोनाको असरका कारण कारोबार ठप्प भएको हो,’ उनले भने । तत्काल सुनको मूल्य घट्ने संकेत आफूले नपाएको उनको भनाइ छ ।