सुर्खेत– सुर्खेतमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ। मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुई–दुईजना पुरुषमा कोरोना पुष्टि भएको हो।
वीरेन्द्ररनगर नगरपालिका– १ मा १६ वर्षीय किशोर, वडानम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष, वडानम्बर ३ मा ४६ वर्षका पुरुष र वडानम्बर ६ मा २६ वर्षका युवकमा कोरोना पुष्टि भएको छ।
यस्तै पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–८ मा १६ र १७ वर्षीय दुईजना पुरुष र सिम्ता गाउँपालिका–४ मा ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। उनीहरु सबै भारतबाट आएका हुन्। भारतबाट आएर प्रदेशको सिमा नाका बबई तथा सुर्खेतस्थित सुब्बाकुना र घण्टाघरमा रहेको क्वारेन्टाइनमा बसेकाहरुबाट लिइएको स्वावको नमूना परीक्षण गर्दा १२ जनामा पोजेटिभ रिपोर्ट आएको हो।

त्यस्तै आज (मंगलबार) बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ। संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन्। पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षामा खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि भएको हो।
३५ र ३६ वर्षको सुरक्षाकर्मीमा काेराेना संक्रमण पुष्टि भएकाे हाे। यस्तै क्वारेन्टाइनमा रहेका तीन जना १९, ३० र ३५ वर्षिय पुरूषमा काेराेना संक्रमण भेटिएकाे हाे।
यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ। दुई जना उपचारपछि निको भएर घर फर्किएका छन् भने एक जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६९९ पुगेको छ। जसमध्ये ४ जनाको मृत्यु भएको छ भने १ सय १२ जना निको भइसकेका छन्।