काठमाडौं– नेपालमा नौ कोरोना सङ्क्रमित थपिएका छन्। बाँके र मकवानपुरमा गरी शुक्रबार नौ जना कोरोना सङ्क्रमित थपिएका हुन्। यो सँगै सङ्क्रमितको सङ्ख्या २५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगञ्जमा परीक्षण क्रममा बिहीबार नयाँ नौ जनामा सङ्क्रमण देखिएको बताएका छन्। नयाँ सङ्क्रमितमध्ये आठ बाँके र एक जना मकवानपुरका छन्। मकवानपुरमा पहिलोपटक सङ्क्रमण देखिएको हो।
सङ्क्रमित देखिएका व्यक्ति मकवानपुरका ३७ वर्षीय पुरुष तथा बाँके नरैनापुर गाउँपालिका वडा नं १, ३ र ५ का १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुष छन्। मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन्। रासस