लम्की– सोमबार कैलालीको लम्कीमा थप एक जनामा कोरोनाको सङ्क्रमण फेला परेपछि कैलालीका नागरिक त्रसित भएका छन्।लम्कीमा सङ्क्रमण देखिएकी ६५ वर्षीया महिला १७ जनाको टोलीसहित जिल्ला प्रशासन कार्यालय पर्साको सिफारिसमा केही दिन अघि लम्की पुगेका थिए।लम्की चुहा नगरपालिकाको लम्की बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको थियो।
उनीहरु बीरगञ्ज नाकामा सडकमा बसेर चिया बेच्ने काम गर्नेहरु भएको बताइन्छ। ती १७ जना मध्ये केही लम्कीको भुरुवा निवासी हुन् भने केही त्यहाँ घर नभएका रहेको बताइन्छ। क्वारेन्टाइनमा बसेकै बेला त्यहाँ रहेका सबैको र्यापिड टेष्ट गरिएको लम्की चुहा नगरपालिकाले जनाएको छ।क्वारेन्टाइनमा रहेका सबैको र्यापिड टेष्ट नेगेटिभ आएपनि स्वाबको नमूना परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा पोजेटिभ आएपछि ती महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। हालको उनको अवस्गा सामान्य रहेको अस्पतालका चिकित्सक डा जगदीश जोशीले जानकारी दिएका छन्।
क्वारेन्टाइनमा बसेकाको र्यापिड टेष्ट नेगेटिभ आएपछि उनीहरुलाई पिसिआरको रिपोर्ट नआउँदै चैत्र २९ गते घर पठाइएको नगरपालिकाले जनाएको छ। बाँकी १६ जनालाई समेत पुनः लम्की बहुमुखी क्याम्पसकै क्वारेन्टाइनमा राखिएको छ। ती महिलासँग सम्पर्क भएकाहरुको खोजी भइरहेकोे लक्मीचुहा नपाको वडा नं. १ का वडाअध्यक्ष जनक बमले जानकारी दिएका छन्। रासस