धरान - धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोरोनाको परीक्षण शुरु भएको छ।
प्रतिष्ठानमा शुरु भएको प्रयोगशालाबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने जनाइएको छ। सङ्घीय सरकारको सहयोगमा शुरु गरिएको परीक्षण प्रयोशालाको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरेका छन्।
अहिलेसम्म कोरोनाको स्वाब परीक्षण काठमाडौंको टेकु अस्पतालमा मात्र हुँदै आएको थियो। सरकारका सात वटै प्रदेशमा ल्याब सञ्चालन गर्ने योजनाअनुसार प्रदेश नं १ मा बिपी प्रतिष्ठानमा शुरु गरिएको हो। मुख्यमन्त्री राई र सामाजिक विकासमन्त्री घिमिरेले प्रतिष्ठानको आइसोलेसन वार्ड, हेल्प डेस्क र यहाँको महामारीका बेला उपचार व्यवस्थापनबारे समेत जानकारी लिएका थिए।