महोत्तरी– आफ्नै घरमा स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या महोत्तरीमा सात पुगेको छ। गत शुक्रबार (चैत ७गते )सउदी एवरवेजबाट घर फर्केका थप दुई जना सम्पर्कमा आएपछि जिल्लामा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बढेको हो। सो विमानबाट घर फर्केका जिल्लाका ११ मध्ये पाँच जना दुई दिनपहिलेदेखि नै स्वास्थ्य जाँचपछि क्वारेन्टाइनमा बस्दै आएका छन्।
सउदी एयरवेजबाट घर फर्केका ११ मध्ये चारसँग सम्पर्क हुन अझै बाँकी छ। चारै जनाको घर ठेगाना र नाम यकिन भइसकेको हुँदा उनीहरुलाई सम्पर्कमा ल्याउन प्रयत्न भइरहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए। गत शुक्रबार सउदी एवरवेजबाट आएकी एक युवतीमा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि भएपछि सो विमानबाट आएका अन्यको खोजी थालिएको हो।
अहिले सम्पर्कमा आएका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको जनाइएको छ। सबैलाई आआफ्नै घरमा समयसमयमा स्वास्थ्यकर्मीको निगरानी हुने गरी क्वारेन्टाइनमा राखिएको हो। जिल्लामा ‘लकडाउन’ मा कडाइ गरिँदै लगिएको छ। रमिते बनेर सवारी साधन लिई बजार निस्कने क्रमशः घट्दै गएका छन्। जिल्लामा पहिलो दिन गत मङ्गलबार ‘लकडाउन’ अवज्ञा गर्ने २०० भन्दा बढी सवारी साधनलाई चेतावनीसहित छाडिएको थियो।
दोस्रो दिन बुधबार सो सङ्ख्या घटेर ९५ मा झरेको र आज बिहीबार भने मुख्य सडकमा सवारी साधन लिएर हिंँड्ने कमै देखिएका छन्। यसैबीच कोरोना सङ्क्रमण रोक्न महोत्तरीमा धमाधम क्वारेन्टाइन बनाइँदैछन्। जिल्लामा भारत र अन्य मुलुकबाट घर फर्कनेहरु थपिँदै जाँदा उनीहरुलाई सुरक्षित राख्न क्वारेन्टाइन बनाउन थालिएको हो। बर्दिबास नगरपालिकामा ५५ शय्याको क्वारेन्टाइन तयार भएको छ।
बर्दिबास–४ स्थित सशस्त्र प्रहरी बलको दुई नम्बर वाहिनीमा तीन दक्ष चिकित्सक र पाँच स्वास्थ्यकर्मीसहित ३८शैय्या र बर्दिवास–१ स्थित बर्दिबास सेवा समितिको भवनमा दुई दक्ष चिकित्सक र चार स्वास्थ्यकर्मीसहित १७ शय्याको क्वारेन्टाइन तयार भएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिएका छन्।
यसबाहेक जलेश्वरमा २० र पिपरामा१५ गरि ३५ शैयाको कोरेन्टाइन तयार छ। यसैगरि जिल्लाका सबै ९१५ वटै स्थानीयतहमा क्वारेन्टाइन निर्माण गर्न आवश्यक समन्वय भइरहेको प्रजिअ खत्रीले जानकारी दिएका छन्। यसैबीच क्वारेन्टाइन बनाउन ठाउँको खोजी भइरहेका बेला राजपा नेपालकी नेत्री तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले बर्दिबास–१४ मा आफुले सञ्चालन गर्दै आएको होटल पावन मिथिलाको भवन उपलब्ध गराइने बताएका छन्।
यसैगरी बर्दिबास–१४ स्थित होटल शुभसन्ध्या पनि आवश्यकतानुसार क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने होटल प्रबन्धक दीपक कार्कीले बताएका छन्। सरकारले कोरोना सङ्क्रमण बढ्न नदिन गत मङ्गलबारदेखि एकहप्ते ‘लकडाउन’ शुरु गरेसँगै बजार, यातायात बन्द गरिएका छन्। जिल्लाका ११ भारतीय सीमावर्ती नाका यसअघि गत आइतबार नै बन्द गरिएका छन्।
सरकारले लकडाउन गरेयता व्यापार व्यवसाय रोकिएपछि बर्दिबास–१ का हर्कबहादुर तामाङले आफ्नो घरका १७ सटर ९व्यापार प्रयोजनका कोठाको भाडा यो असर रहुञ्जेल नलिने बताएका छन्। बर्दिबास उद्योग वाणिज्य सङ्घले गत आइतबार कोरोना सङ्क्रमण बढ्न नदिन बजार र व्यापार बन्द गर्ने निर्णय गरेसँगै घरधनीलाई भाडा मिनाहा गर्न आग्रह गरेपछि तामाङले यस्तो घोषणा गरेका हुन्। तामाङले आफ्ना १७ सटरबाट मासिक रु पाँच लाख भाडा लिँदै आएका थिए। यसैगरी अन्य घरधनीलाई पनि फराकिलो मन बनाउन सङ्घका अध्यक्ष प्रल्हाद क्षत्रीले आग्रह गरेका छन्। (रासस)