चितवन – स्वास्थ्यमा कुनै समस्या आएको तपाईले महशुस गर्दै हुनुहुन्छ ? अस्पताल जान नहतारिनुहोला। अब विशेषज्ञ चिकित्सकसँग मोबाइलमा फोनमा कुराकानी गरेर उचित परामर्श र सल्लाह लिन सक्छन्। यसका लागि जिल्लाका १० विशेषज्ञ चिकित्सकले आफ्नो सेवा प्रदान गर्न शुरुआत समेत गरेका छन्।
नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा प्रकाश खतिवडाका अनुसार विशेषज्ञ चिकित्सक मध्ये जुन टेलिफोनमा सम्पर्क हुन्छ त्यसैमा सर्वसाधारणले परामर्श लिन सक्ने छन्। अस्पतालमा बिरामीको भीड नहोस् र सामान्य समस्या भएमा फोनबाटै परामर्श गरी समस्याको समाधान होस् भन्ने उद्देश्यले सो सुविधा उपलब्ध गराइएको सङ्घले जनाएको छ । टेलिफोनमा बिरामीले घरमा नै आराम गरेर सामान्य औषधि प्रयोग गर्नपर्ने भएमा औषधिको नामसमेत चिकित्सकले टिपाइ दिने छन्।
अध्यक्ष डा खतिवडाले भने, ‘तत्काल उपचारका लागि अस्पताल जानपर्ने भए सोहीअनुसार परामर्श दिइएको छ भने नपर्ने भए पनि त्यसैअनुसार बिरामी र आफन्तलाई बुझाउने काम भइरहेको छ।’ सार्वजनिक गरिएको मोबाइल नम्बर लिनुभएकामध्येका एक डा कृष्णसागर शर्माका अनुसार २४ घण्टामा ६५ जनासम्मलाई उनले फोनबाट परामर्श दिएका छन्। रातको समयमा समेत विभिन्न जिल्लाबाट पनि फोन आउने गरेको उनले जानकारी दिएका छन्।
यहाँ सञ्चालनमा ल्याइएको भरतपुर कोरोना विशेष–अस्थायी अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले चिकित्सकको नम्बर र त्यहीबाट परामर्श पाउन थालेपछि अस्पताल आउने बिरामीको सङ्ख्यामा कमी आएको जानकारी दिएका छन्। तत्काल उपचार एवं शल्यक्रिया गर्न नपर्ने बिरामीलाई पछि मात्र आउन चिकित्सकले टेलिफोनमा सुझाव दिने गरेको उनले जानकारी दिएका छन्।
टेलिफोन गर्ने बिरामीलाई अस्पताल जानैपर्ने भएमा कहाँ जाने भन्ने विषयमा पनि परामर्श दिइने गरेको छ। जिल्लाको सदरमुकामदेखि ग्रामीण क्षेत्रका बिरामी र आफन्तले चिकित्सकलाई फोन गरेर स्थानीय मेडिकलको औषधि खुवाउँदै आएका छन्। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार ती चिकित्सकका लागि नेपाल टेलिकमबाट छुट्टै नम्बर व्यवस्था गरिएको छ।
ती चिकित्सकका नम्बरमा डा प्रकाश खतिवडा ९८५५०१९१६१, डा कृष्णसागर शर्मा ९८५५०१९१६२, डा कल्याण सापकोटाको ९८५५०१९१६३, डा अनिलविक्रम कार्कीको ९८५५०१९१६४, डा गुरु शाह ९८५५०१९१६५, डा कालीदाश अधिकारी ९८५५०१९१६६, डा प्रतीक न्यौपाने ९८५५०१९१६७, डा विधान श्रेष्ठ ९८५५०१९१६८, डा प्रमोद पौडेल ९८५५०१९१६९ र डा भोजराज अधिकारी ९८५५०१९१७० रहेको छन्।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कोभिड–१९–कोरोना भाइरसको सम्भावित जोखिमलाई ख्याल गर्दै सकेसम्म घर बाहिर ननिस्कन आम सर्वसाधारणलाई आह्वान गरेका छन्। घरबाटै चिकित्सकसँग परामर्श गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ। जिल्लाका अस्पतालमा चितवनसहित २० भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन्। सामाजिक सञ्जालमार्फत चिकित्सकको फोन सार्वजनिक गरिएकाले देशैभरबाट बिरामी र आफन्तले अहिले यहाँका चिकित्सकको मोबाइल नम्बरमा परामर्श गरिरहेको प्रमुख दाहालको भनाइ छ। रासस