सुर्खेत– मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले कोभिड–१९ बाट आतङ्कित नहुन आग्रह गरेका छन्। कर्णाली प्रदेश अस्पतालका चिकित्सकसँग आज भएको छलफलमा उनले कोरोना भाइरसबाट त्यत्ति डराइहाल्नु पर्ने स्थिती नरहेको तर होसियारी बन्न सुझाउ दिएका छन्। ‘यससँग जुध्न मनोबल बलियो बनाऔँ’, उनले भने्, ‘विश्वभरि लोकप्रिय बन्दै गएको ‘नमस्ते’ नेपाली मौलिक अभिवादनमा जोड दिउँ।’
कोरोनाबारे सचेतना, रोकथाम, अध्ययन तथा अनुसन्धानका लागि विश्वविद्यालयको महत्वपूर्ण भूमिका हुने उपकुलपति प्रा.डा. सिंहले बताएका छन्। विश्वविद्यालयको जनशक्तिलाई नागरिकस्तरमा सचेतना जगाउँनका साथै अनुसन्धानमा जोड दिन निर्देशन गरिएको उनले जानकारी दिएका छन्।
वरिष्ठ फिजिसियन डा. केएन पौडेलले कोरोनाबाट बच्न रुघाखोकी लागेका मान्छेबाट दुई–तीन मिटर टाढा बस्न सुझाएका छन्। ‘हातमुख राम्रोसँग धुनु, अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कनु पनि यो रोग लाग्नबाट बच्ने उपाय हो’, उनले भने, ‘धेरै भीडभाड गर्ने र हात मिलाउने काम पूर्णरुपले बन्द गर्न सके हामी यो रोग सङ्क्रमण हुने समस्याबाट बच्छौँ।’ रासस