बाजुरा– विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिन सतर्कता साथै जिल्लामा आवतजावत गर्ने सर्वसाधारणको जाँचका लागि चार स्थानमा हेल्थ डेस्क स्थापना गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
बुधबार प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताएका छन्। जिल्ला दैवी प्रकोप तथा उद्धार समितिको सर्वपक्षीय बैठकले नौ निर्णयसहित जिल्लामा आउने चार नाकामा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताएका छन्।
हेल्थ डेस्क पूर्वी–उत्तरी भेगको कोल्टी विमानस्थल कोल्टी, जगन्नाथ गाउँपालिकाको जुड्डीमा समेत स्थापना गरिने जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समिर भण्डारीले जानकारी दिएका छन्।
उनको अनुसार बाजुरा अछामको सिमाना रहेको बूढीगङ्गा नगरपालिकाको इकडीगाड वा बाम्का बजार र जिल्ला सदरमुकाम मार्तडीको कारागार नजिकै रहेको बसपार्कमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको राससलाई बताएका छन्।
यस्तै कोरोना सङ्क्रमणबाट जोगिनका लागि जिल्लाका स्थानीय तह र सबै कार्यालयलाई प्रचारप्रसारमा तीव्रता दिन प्रशासनले आग्रह गरेको छ। जिल्ला अस्पताल बाजुरामा आइसोलेसन स्थापना गरी शङ्कास्पद व्यक्तिलाई उपचार गर्ने गरी श्यया बनाइएको छ।
कोरोना सङ्क्रमणबाट बच्नका लागि नौ वटै स्थानीय तहले प्रतिकार्य योजना बनाएर चैत मसान्तभित्र जिल्ला दैवी प्रकोप समितिलाई बुझाउनपर्ने भएको छ। सङ्क्रमणको बेला स्वास्थ्यकर्मीलाई आपतकालीन समयबाहेक बिदा नलिन प्रशासनले पत्राचार गरेको सूचना अधिकारी भण्डारीको भनाइ छ।
कोरोना सङ्क्रमण देखिएमा स्थानीय तहले जिल्ला अस्पताल बाजुरा र स्वास्थ्य कार्यालयमा उद्धार टोली तयार राखिने भएका छन्। हेल्थ डेस्क स्थापना गरिने भए पनि आवश्यक उपकरण अभाव रहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले स्वीकार गरेका छन्।
कोरोना भाइरस सङ्क्रमणका लागि जाँच गर्ने थर्माेमिटरसहित अन्य आवश्यक सामग्री नभएको प्रजिअ न्यौपानेको भनाइ छ। आवश्यक जनशक्ति तयार भए पनि सामग्री नभएपछि हेल्थ डेस्क स्थापना गर्न ढिलाइ हुने सहायक प्रमसुख जिल्ला अधिकारी भण्डारी बताउँछन्। रासस