काठमाडौँ, २५ माघ – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन निश्चित समयमा हुन सकेन। गत भदौमा कार्यकाल सकिएको संघको वर्तमान नेतृत्वको व्यक्तिगत र गुटगत स्वार्थका कारण महाधिवेशन समयमै हुन नसकेको हो।
पटक–पटक समय थप्दासमेत संघको महाधिवेशन हुन सकेन। निर्धारित समयमा महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मिति थप गरी पुस २८ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर, उक्त अवधिमा पनि महाधिवेशन हुन सकेन। यसबाट नेविसंघभित्रको विवाद झन् चुलियो।
विशेष समय पाउँदासमेत महाधिवेशन गर्न नसक्नुमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघभित्रका सक्रिय गुट–उपगुट र उमेर हदको विषय प्रमुख कारण देखिन्छ। यसअघि कांग्रेसको केन्द्रीय समिति बैठकले नेविसंघमा ३२ वर्षे उमेर हदबन्दी लगाउने निर्णय गरेको थियो।
कांग्रेसमा नेता उत्पादनका लागि ‘नर्सरी’का रूपमा लिइने नेविसंघ यतिबेला गुटगत राजनीतिमा विभक्त छ। पटक–पटक समय थप गर्दा पनि महाधिवेशन गर्न अहिलेको कार्यसमिति असमर्थ देखिँदा ‘कांग्रेस’को केन्द्रीय कार्यसमितिको बैठक संघको वर्तमान समिति विघटन गरी तदर्थ समिति गठन गर्ने निचोडमा पुगेको छ।
तर, कांग्रेसका एक जना नेता कृष्णप्रसाद सिटौला भने संघको वर्तमान समिति विघटन गर्न नहुने पक्षमा छन्। तथापि, कांग्रेसका अधिकांश नेता संघको वर्तमान समिति विघटन गरी तदर्थ समिति बनाउनेमा एकमत देखिएको पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा बताउँछन्।
नेताहरूले आ–आफ्नो अनुकूलको समिति ल्याउने अभिप्रायका साथ यस्तो लबिङ थालेका हुन् कि भन्ने चर्चा पनि कांग्रेसवृत्तमा चल्न थालेको छ। नेविसंघमा नयाँ ‘टीके तदर्थ समिति’ बनाई त्यसैलाई निरन्तरता दिने हुन् कि भन्ने आशङ्का नेविसंघका नेताहरूमा देखिन्छ।
११औँ महाधिवेशनबाट निर्वाचित नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले संघको महाधिवेशन गर्न पार्टी नेतृत्व तयार नभएको आरोप लगाएका छन्। महामन्त्री काफ्लेले भने, ‘नेविसंघको महाधिवेशनबाट पार्टी नेतृत्व नै भागिरहेको छ। हामी तत्काल महाधिवेशन गर्नुपर्ने पक्षमा छौँ तर ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूले महाधिवेशन गर्न चाहेका छैनन्। केही नेताहरू भने महाधिवेशन गर्ने नाममा टीका लगाएर नेतृत्व सुम्पिन लागिपरेका छन्।’
उनले भने, ‘महाधिवेशन समयमै नहुनु पार्टी सभापति शेरबहादुर देउवा र अन्य नेताहरूको गैरजिम्मेवारीपनको पराकाष्ठा हो।’ नेविसंघको १५ जिल्लामा संघको जिल्ला अधिवेशन सम्पन्न भइसकेको र अब यही समितिले अविलम्ब महाधिवेशन गर्नुपर्नेमा उनले जोड दिए।
त्यस्तै नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले नेतृत्वका कारणभन्दा पनि पार्टीले विधान सम्मेलन गरी अनुमोदन गर्न ढिलाइ गरेकाले महाधिवेशन हुन नसकेको बताए। उनले भने, ‘यही समितिलाई नै उक्त जिम्मेवारी दिई आगामी वैशाख ६ गते संघको स्थापना दिवससम्म महाधिवेशनको मिति थप गर्नुपर्नेछ।’
उनले भने, ‘कलेजहरूमा निकट भविष्यमै स्ववियु निर्वाचन हुँदैछ, नेकपाको भ्रातृ संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारी एक भएर चुनाव लड्दैछन् भने हामीले एक्लै चुनाव लड्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा संघमा टीके तदर्थ समिति बनाउँदा विवाद आउने हुन्छ र त्यसले चुनावी परिणाम पनि प्रतिकूल हुनसक्छ। प्रतिपक्षी संगठनका रूपमा रहेको नेविसंघलाई कसरी बलियो बनाउने भन्ने विषयलाई पार्टी नेतृत्वले ध्यानमा राखेर मात्र यससम्बन्धमा निर्णय गर्दा राम्रो हुन्छ।’
१०औँ महाधिवेशनपछि नेविसंघभित्र चरम विवाद
नेविसंघको १०औँ महाधिवेशनपछि संगठनमा स्वच्छता आउन सकेको छैन। २०६४ सालपछि नेविसंघमा विवादको राजनीति शुरु भयो। १०औँ महाधिवेशनबाट अध्यक्षमा प्रदीप पौडेल आए। केही वर्षपछि संगठनभित्र तीव्र असन्तुष्टि चुलिन थालेपछि पौडेलले नेविसंघ अध्यक्षबाट राजीनामा दिए।
त्यसपछि तत्कालीन पार्टी सभापति सुशील कोइरालाले रञ्जित कर्णलाई अध्यक्षको जिम्मेवारी दिएका थिए। उनलाई तत्कालका लागि महाधिवेशन गर्ने जिम्मेवारी दिइएको थियो। तर, तत्काल नेविसंघको महाधिवेशन हुने बताइए पनि महाधिवेशन हुन सकेन। टीका लगाएर बनाइएको समिति कर्णले करिब ५ वर्ष चलाएपछि बल्ल ११औँ महाधिवेशन भयो।
उक्त महाधिवेशनद्वारा २ वर्षका लागि नैनसिंह महरको नेतृत्वमा केन्द्रीय समिति गठन भयो। करिब ८ वर्षको लामो अन्तरालपछि नेविसंघले निर्वाचित नेतृत्व पाएको थियो। लामो समयको अन्तरालमा निर्वाचित नेतृत्व पाएपछि संगठन सही ढङ्गले अघि बढ्छ भन्नेमा नेविसंघका आम नेता कार्यकर्ता विश्वस्त थिए।
तर, ११औँ महाधिवेशनबाट निर्वाचित समिति झन् अहिलेसम्मकै निकम्मा देखियो। पछिल्लो समय नेविसंघ गुटगत राजनीतिका कारण धराशयी अवस्थामा पुगेको छ। संगठनभित्र विभिन्न गुट–उपगुट जन्मिएका छन्। यसको प्रभाव देशभरका क्याम्पसहरूमा पनि परेको छ। सबै तहमा नेतापिच्छे समिति बनाउँदा बनाउँदै अध्यक्ष महरको कार्यकाल सकियो।
केन्द्रीय समितिमा रहेका हरेक नेताहरूले जिल्ला तथा एकाइमा आफूअनुकूलको समिति बनाउँदै आएका छन्। शुरुमा एक भएर चुनावी प्रतिस्पर्धा गरेका केन्द्रीय समितिका नेताहरू पनि अहिले एकअर्काको आलोचक भएका छन्।
नेविसंघको निर्वाचनताका सभापति देउवा खेमाबाट अध्यक्षका उम्मेदवार नैनसिंह महरलाई समर्थन गरेर महामन्त्री भएका नेता कृष्णप्रसाद सिटौला खेमाका कुन्दनराज काफ्ले अहिले संगठनभित्र अध्यक्षको सबैभन्दा धेरै आलोचक बनेका छन्।
उनी अहिले नेविसंघमा नेतृत्वविरोधि कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यतिबेला अध्यक्ष महर र महामन्त्री काफ्ले फरक-फरक धारमा देखिए पनि संघको १२औं महाधिवेशन अझ पर सरे हुन्थ्यो भन्ने मनसाय दुवैमा देखिन्छ।
पार्टीको १३औँ महाधिवेशनमा सभापतिमा देउवालाई समर्थन गरेका नेता सिटौलाले पार्टीका हरेक भ्रातृ संगठनमा देउवालाई नै सहयोग गर्दै आएका थिए। तर, पछिल्लो समय देउवासँग सिटौला अलग भएसँगै नेविसंघभित्रको विवादले पनि उग्र रूप लिँदै गएको हो।
अध्यक्ष महरको कार्यकाल भदौ २ गते नै सकिएको थियो। नेविसंघको विधानमा कारणवश २ वर्षमा महाधिवेशन हुन नसके ३ महिना थप्नसक्ने व्यवस्था छ।
नेविसंघका अर्का महामन्त्री आनन्दराज त्रिपाठीले गुटगत राजनीति, आरोप–प्रत्यारोप र एकआपसमा देखिएको असमझदारीका कारण समयमै महाधिवेशन हुन नसकेको बताए। उनले भने ‘संगठनभित्र गुट हावी भएको छ, सबै विद्यार्थी नेताहरू गुटमा विभाजित हुने र एकआपसमा असहयोग गर्ने परिपाटीले पनि नेविसंघमा थप समस्या चुलिएको छ।’