काठमाडौं। अष्ट्रेलियन नर्थेन टेरोटेरी अन्तर्राष्ट्रिय शिक्षा र प्रशिक्षण प्रदर्शनी कार्यक्रम रोकिएको छ।
शिक्षा मन्त्रालयबाट अनुमति नलिएको भन्दै उक्त कार्यक्रमलाई प्रहरीले रोकेको हो।
अष्ट्रेलिया सरकारको नर्थेन टेरोटेरी स्टडी एनटीले आयोजना गर्ने भनिएको उक्त कार्यक्रम शुक्रबार अपरान्ह साढे ४ बजेदेखि ठमेलको अमृत मार्गमा हुने तय भएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान बहादुर कार्कीले शिक्षा मन्त्रालयको निर्देशनपछि उक्त कार्यक्रम रोकेको बताए।
उनले नेपाली पब्लिकलाई भने, ‘शिक्षा मन्त्रालयले अनुमतिविना सार्वजनिक स्थानमा शिक्षासम्बन्धी कार्यक्रम गर्न नदिनु भनेपछि यो कार्यक्रम रोकेका छौं।’
यसअघि माघ २५ गते नै उक्त कार्यक्रमबारे काठमाडौंस्थित अष्ट्रेलियन राजदूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गराएको थियो। उक्त पत्रपछि सो कार्यक्रमबारे परराष्ट्र मन्त्रालयले शिक्षा मन्त्रालयलाई जानकारी गराएको पाइएको छ।
तर, अन्तिम समयमा कार्यक्रम किन रोकियो भन्ने खुल्न सकेको छैन।
.jpg)