काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कानुनी व्यवस्था विपरित ठगी गरे तत्काल कारबाही गर्ने बताएका छन्।
आइतबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले कुनै पनि म्यानपावर र व्यक्तिगत रुपबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे सरकारले कठोरतापूर्वक तत्काल कारबाही गर्ने बताएका हुन्।
उनले सरकारले सुध्रन चाहने म्यानपावर व्यवसायीलाई सुध्रनको लागि समय दिएको पनि बताए।
मन्त्री अर्यालले पछिल्लो समय म्यानपावर संस्थाको नामबाट भन्दा व्यक्तिगत रुपमा पैसा लिएर ठगी गरेका गुनासो बढेकाले मन्त्रालयले त्यही अनुसार अनुसन्धान गरिरहेको बताए।