धनुषा । धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको भित्ता फोडेर फरार भएका ६ जना थुनुवामध्ये प्रहरीले सर्च अपरेशनका क्रममा ४ जनालाई पक्राउ गर्न सफल भएको छ ।
फरार थुनुवामध्ये पक्राउ पर्नेहरूमा मिथिला नगरपालिका वडा नम्बर–२ का २५ वर्षीय हरिदिप सिंह, २५ वर्षीय अमित मण्डल, मिथिला नगरपालिका वडा नम्बर–६ का २८ वर्षीय रोशनकुमार महतो र क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने ३५ वर्षीय विनोदकुमार शर्मा रहेका जनाइएको छ ।
हातहतियार तथा खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ, अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका अमितलाई मंगलबार दिउँसो, हरिदिपलाई मंगलबार राति र लागूऔषध मुद्दाका शर्मालाई बुधबार राति पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
विनोदलाई मथिला नगरपालिका–१० लालगढको रातो खोलाको बगर छेउमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।