काठमाडौं। पाकिस्तानको पेशावरस्थित एउटा मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीहरूलाई निसाना बनाएर गरिएको आत्मघाती बम विस्फोटनमा मृत्यु हुने मानिसको सङ्ख्या ९२ जना पुगेको छ।
मङ्गलवार उद्धारकर्ताहरूले थप २४ जनाको शव फेला पारेसँगै विस्फोटनमा मृत्यु हुनेको सङ्ख्या ९२ जना पुगेको छ। सो क्रममा नौ जनालाई जीवितै फेला परेका छन्।
उक्त मस्जिद कडा सुरक्षा व्यवस्था भएको प्रहरी मुख्यालय भएको क्षेत्रमा अवस्थित छ। ती आक्रमणकारीले कसरी त्यहाँ प्रवेश पाए भन्ने विषयमा छानबिन भइरहेको छ। घटना भएको मस्जिद सहरको सर्वाधिक सुरक्षायुक्त क्षेत्रमध्ये पर्छ। त्यहाँ प्रहरी मुख्यालय, गुप्तचर निकाय र प्रतिआतङ्कवाद ब्यूरोहरू छन्।
पाकिस्तानमा ठूलो क्षति हुनेगरी गरिएका आक्रमणमध्ये उक्त घटना पनि पर्छ। पाकिस्तानी तालिबानले उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।
स्थानीय अधिकारीहरूले भग्नावशेषमा अब अरू कोही नफसेको बताएका छन्। अहिलेसम्म १०० जनाभन्दा धेरै घाइते भएका छन्।