पर्सा । पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाल सरकारले ६८ वर्षको उमेरमा दिने वृद्धभत्ताको उमेरलाई घटाएर ६५ मा झार्न पहल गर्ने बताएका छन् ।
पर्साको पर्सागढी नगरपालिकाका ज्येष्ठ नागरिकलाई कम्बल र च्यावनप्रास वितरण गर्दै पूर्वमन्त्री यादवले वृद्धवृद्धाका लागि भत्ता पाउने उमेर ६८ वर्षभन्दा पनि ६५ वर्ष उपयुक्त रहेको बताउँदै यसका लागि आफूले संसद् मार्फत पहल गर्ने बताएका हुन् ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य यादवले छोराछोरीहरुले कमाउने आम्दानीको केही रकम अभिभावकका लागि अनिवार्य रुपले छुट्याउनुपर्ने कानुनका लागि पनि पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘आजको युगमा छोरीछोरीहरुले आफ्नो अभिभावकलाई एक समयपछि अवहेलना गर्ने चलन बढ्दै गएको छ । अभिभावकको आम्दानीको स्रोत बन्द भएपछि उनीहरु छोराछोरी माथि आश्रित हुन्छन तर सन्तानले उनीहरुको सबै मागलाई पूरा गर्दैनन् । त्यसैले पनि यस्तो व्यवस्था गर्नु आवश्यक छ।’
पर्सागढी नगरपालिका वडा नम्बर ९ बडेर्वामा आयोजित कार्यक्रममा ७० वर्ष उमेर नाघेका १ सय ५० जना वृद्धवृद्धालाई जनही एकरएक थान कम्बल र चवनप्रास वितरण गरिएको थियो ।कार्यक्रममा वडा कार्यालयको बजेटबाट खरिद गरिएको कम्बल र चवनप्रास यादवले वृद्धवृद्धालाई हस्तान्तरण गरेका थिए ।
वडा नम्बर ९ का वडा अध्यक्ष राम बढाई यादवको सभापतित्वमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविरमण भट्टराई, कार्यपालिका सदस्य अस्लम आलम, वडा नम्बर ४ का वडा अध्यक्ष खुर्शेद आलम लगायतको पनि उपस्थिति रहेको थियो ।