काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कतिपय दलीय असहमतिलाई सहमतिमा ल्याउने महत्त्वपूर्ण थलो संसदीय समिति बनेको बताएका छन् ।
कानून, न्याय तथा मानव अधिकार समितिले प्रकाशन गरेको ‘संसद्मा कानून, न्याय तथा मानव अधिकार समिति : अभ्यास र उपलब्धि’ पुस्तक विमोचन समारोहमा आज उनले संसद्को महत्त्वपूर्ण काम कानून निर्माणमा समितिको भूमिका प्रभावकारी भएको बताए।
“उदीयमान व्यवस्थापिकाको चाहना भनेकै संसद्लाई जीवन्त र जनमुखी बनाउनु हो”, सभामुख सापकोटाले भने, “संसद्लाई जीवन्त बनाउनेतर्फ नै मेरो सम्पूर्ण ध्यान केन्द्रित छ ।”
बजेट अधिवेशनमा २८ वटा विधेयक पारित भएको र गुणात्मक कानून निर्माणमा संसद्ले अझ बढी मेहनत गर्न आवश्यक रहेको स्पष्ट पार्दै उनले सङ्घीय संसद्का कतिपय समितिमा दोहोरोपन देखिएको भन्दै यस्ता विषयमा समीक्षा गर्नुपर्ने बताए।