काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक सङ्ख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाएका छन्।
सोमबार सङ्घीय संसद सचिवालयमा आयोजित ‘संसदमा कानुन, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला दिन संसदमा गणपूरक सङ्ख्या नपुगेकोप्रति असन्तोष व्यक्त गरेका हुन्।
पछिल्लो समय संसदमा हाजिर गरेर सांसदरु बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक सङ्ख्या पुग्न छोडेको छ। आइतबार मात्रै बसेको प्रतिनिधिसभाको बैठकमा समेत विधेयक पास गर्नका लागि सांसदरुको गणपूरक सङ्ख्या नपुग्दा मङ्गलबारसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो।
उनले संसदलाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सांसदहरु अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरु प्रमाणीकरण र पास गर्न संसदलाई अप्ठ्यारो भइरहेको बताए। संसदमा विधेयक पास गर्नको लागि धेरै पटक घण्टी बजाउनुपरेको र मन्त्रीहरु बोलाउन कुर्नुपरेको भन्दै सबै सांसद र मन्त्रीहरु जिम्मेवार र गम्भीर हुनुपर्नेमा उनको जोड छ।