काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का नेता जितेन्द्र सोनलले मधेस सरकारका मन्त्रीहरुले प्रदेश प्रमुखको कार्यालय अगाडि गरेको धर्ना कार्यक्रम औचित्यहीन भएको बताएका छन्।
प्रहरी ऐन अगाडि बढाउन सङ्घीय सरकारलाई एक साताको समय दिएर आजदेखि आन्दोलनमा उत्रेको गठबन्धनको सरकारले देशको संवैधानिक निकायको रुपमा रहेका प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएर केही हासिल गर्न नसक्ने भन्दै नेता सोनलले त्यसलाई नाटकको संज्ञा दिएका छन्।
मधेस प्रदेशको प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका सोनलले प्रहरी ऐन अगाडि बढाउनुपर्ने आफूहरूको समेत माग रहेको बताउँदै त्यसका लागि प्रदेश प्रमुख नभई सङ्घीय सरकार र प्रधानमन्त्रीविरुद्ध आन्दोलन गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘प्रदेश प्रमुखले प्रहरी ऐन रोकेका होइनन्। त्यसका लागि सङ्घीय सरकारविरुद्ध आन्दोलन गर्नुपर्छ। हामीसँग सहकार्य गरिए लोसपा पनि उक्त आन्दोलनमा साथ दिन तयार छ।’
सोनलले प्रदेशको अधिकारका लागि नाटक नगरी इमानदारी पूर्वक गठबन्धनका ठुला नेताहरूलाई दबाब दिन प्रदेश सरकारलाई आग्रह समेत गरे।
मधेश प्रदेश सरकारले आजदेखि संघीय सरकारविरुद्ध आन्दोलन सुरू गरेको छ।