काठमाडौं । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले संविधानप्रति आफ्नो सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
संविधान दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले संविधानको अक्षर र भावनाअनुसार सरकार अघि बढिरहेको बताए।
तर, संविधान राम्रो हुँदैमा मात्रै देश नचल्ने उनको भनाइ थियो। संविधान कार्यान्वयन गर्ने नेतृत्व र राज्य संयन्त्र इमानदार तथा सक्रिय नभए संविधान कागजमा मात्रै सीमित हुने उनले बताए।
प्रधानमन्त्री बालेनले भ्रष्टाचार र दण्डहीनताविरुद्ध सरकार कठोर रूपमा अघि बढिरहेको दाबी गरे।
उनले भ्रष्टाचारको जरा गहिरो रहेको स्वीकार गर्दै त्यसविरुद्धको अभियान भर्खरै सुरु भएको बताए। यो अभियानलाई अन्तिम बिन्दु नभई सुरुवातका रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो।
‘भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ, तर यो जरो उखेल्ने हातहरू बलिया छन्, झन् धेरै छन्,’ प्रधानमन्त्री बालेनले भने।
उनले विकास र समृद्धिका लागि सुशासन अनिवार्य भएको बताए। त्यसका लागि प्रशासनिक संरचनालाई आवश्यकताअनुसार व्यवस्थित गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अघि बढाउने सरकारको योजना रहेको उनले जानकारी दिए।
प्रधानमन्त्री बालेनले संविधानको रक्षा केवल कानुनी दस्तावेजबाट नभई त्यसलाई कार्यान्वयन गर्ने राज्य संयन्त्रको इमानदारी र सक्रियताबाट हुने सन्देश दिएका छन्।