काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनलाई केवल नेतृत्व चयनको अधिवेशनमा सीमित नराखी संविधानका आधारभूत मूल्य र मान्यताको संरक्षण तथा आवश्यक संशोधनको स्पष्ट दृष्टिकोणसहित अघि बढाउने बताएका छन्।
संविधान दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै थापाले कांग्रेसले महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यतालाई जगेर्ना गर्ने संकल्प गर्ने बताए।
‘नेपाली कांग्रेसले यो अधिवेशनबाट संकल्प गरेर आउनेछ,’ थापाले भनेका छन्, ‘हामी संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्नेछौँ।’
तर संविधानलाई जस्ताको तस्तै राख्ने पक्षमा मात्र कांग्रेस नरहने संकेत पनि थापाले गरेका छन्। उनले समयअनुसार संविधानका केही विषय परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि ‘साहस’ र ‘स्पष्टता’ आवश्यक रहेको बताए।
‘संविधानमा कतिपय कुराहरू बदल्नुपर्नेछ। जसले संविधानका मूल्य र मान्यताहरूलाई खुम्च्याउने होइन, थप विस्तार गर्नेछ,’ थापाले भने, ‘हामी त्यो गर्ने साहस र त्यो गर्ने स्पष्टता बोकेर यो महाधिवेशनबाट आउनेछौँ।’
थापाले यसअघि पनि संविधान संशोधन नागरिकले प्राप्त गरेका अधिकारलाई संकुचित गर्न नभई थप विस्तार र सुदृढ गर्ने दिशामा हुनुपर्ने धारणा राख्दै आएका छन्।
संविधान संशोधनको विषयसँगै थापाले कांग्रेसको १५औँ महाधिवेशनलाई पार्टीभित्रको तिक्तता घटाउने अवसर बनाउनुपर्नेमा पनि जोड दिएका छन्।
उनले अधिवेशनलाई आपसी फाटो बढाउने माध्यम नबनाउन आग्रह गर्दै विगतका विवाद र घटनालाई वडा अधिवेशनका क्रममा बिर्सिएर अघि बढ्नुपर्ने बताए।
‘अधिवेशन हाम्रा बीचका नमिलेका मन बनाउने सन्दर्भका निम्ति प्रयोग हुनुपर्छ। यसलाई थप फाटो बढाउने अवस्था निर्माण गर्नुहुन्न,’ थापाले भनेका छन्।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय भएको छ। थापाले महाधिवेशनको मिति कुनै पनि हालतमा तलमाथि नहुने बताउँदै आएका छन्।
यसैबीच, महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र नेतृत्व र संगठनात्मक विषयमा मतभेद देखिएको अवस्थामा थापाले सबै पक्षलाई समेटेर अघि बढ्ने र पार्टी एकताका लागि लचिलो बन्न तयार रहेको बताएका छन्।