जनकपुरधाम । बदलिँदो परिवेशमा नेपाल भारतको सम्बन्धका विषयमा जनकपुरधाममा गहन छलफल गरिएको छ ।
नेपाल भारत खुल्ला सीमा संवाद समूह केन्द्रीय समितिको आयोजनामा जनकपुरधाममा आयोजित छलफलमा वक्ताहरूले विगतमा भएका दुई वटा सम्धीहरू पश्चात् नेपाल भारतको सम्बन्ध कमजोर हुँदै गएको बताए ।
कार्यक्रममा नेपाल भारतका जानकार कुशेश्वर झाले राजा महेन्द्रको पाला देखि नेपालमा भारत विरोधी गतिविधि सुरु हुन थालेको बताए ।
जनकपुरधामको प्रमुखमा उम्मेदवार बनेकी तमलोपा नेतृ विभा ठाकुरले आफू २०४४ सालमा विवाह गरेर नेपाल आएको बेला नागरिकता लिन कुनै पनि अप्ठेरो नभएको बताउँदै अहिले हुन थालेको जालझेल प्रति आपत्ति जनाइन् ।
उनले भारतबाट विवाह गरेर नेपालकी बुहारी भएकी महिला माथि विश्वास नभएको खण्डामा सबैलाई फिर्ता पठाइदिनु पर्ने सम्मको अभिव्यक्ति दिइन । कार्यक्रममा नेपाल भारत खुल्ला सीमा संवाद समूहका केन्द्रीय अध्यक्ष राजीव झाले खुल्ला सीमाका आयाम, समस्या, आर्थिक पक्ष, असर र मागहरु समेटेर सम्बन्ध सुधारका लागि एक कार्यपत्र प्रस्तुत गरेका थिए ।
झाले यस अघि नेपालमा भारत मात्रको चासो रहेकाले दुई देशको सम्बन्ध प्रगाढ रहेको भए पनि चिन सहितका देशहरू नेपालमा हस्तक्षेप गरेर दुई देशको सम्बन्ध बिर्गान थालेको बताएका छन् । चिनको चासो बढेपछि अन्य देशको समेत हस्तक्षेप भई मुख्य असर नेपाल भारतको पौराणिक र नेतादारीको सम्बन्धमा पनि प्रभाव परेको उनको आरोप छ ।
कार्यक्रममा लोसपा प्रदेश सांसद सुरिता साहले नेपाल भारतको सम्बन्ध दुई देशको सरकार बिचको सम्बन्ध भन्दा पनि जनता र रोटीबेटीको सम्बन्ध रहेकाले सजिलै बिर्गान नसकिने बताए । कार्यक्रममा नेता जानकी राम साह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठ, जिसस धनुषाका प्रमुख, जउनपा वडा नं. ३ का वडा अध्यक्ष दीपेन्द्र कुमार साह, कमला बचाउ अभियानका प्रमुख सहित भारत सितामढीमा गठन भएको नेपाल भारत खुल्ला सीमा संवाद समूहका अध्यक्ष रोहित झा सहितको सहभागिता थियो ।