सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल निषेध गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने निर्णय गरेको जानकारी दिए।
त्यस्तै, सरकारले पाँच सचिवको सरुवा गरेको छ।
सरकारका प्रवक्ता कार्कीले संयुक्त राज्य अमेरिकामा आयोजना हुने साइबर सेक्युरिटि लिडरसीप प्रोग्राम तथा तालिममा सहभागी हुन नायब महान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेको भ्रमण स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिए।
संयुक्त राज्य अमेरिकाको होनोलुलुमा आयोजना हुने कमप्रोहेन्सीभ सेक्युरिटी कोर्समा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई सहभागी हुन स्वीकृत गर्ने र भारतमा हुने फूड सेक्युरिटीसम्बन्धी कार्यक्रममा सहभागी हुन कृषिमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीृकति दिने निर्णय गरिएको छ।
त्यसैगरी यही जेठ २९ देखि आगामी असार ५ गतेसम्म जर्मनी, बेल्जियम र फ्रान्समा हुने कृषि, फलफूल र सहकारीसम्बन्धी कार्यक्रममा सहभागी हुन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री नेतृत्वको भ्रमण टोलीलाई स्वीकृति प्रदान गर्ने सरकारको निर्णय छ।
रुवान्डाको किगालीमा आयोजना हुने टेलिकम्युनिकेशन कार्यक्रममा भाग लिन सञ्चारमन्त्रीलाई स्वीकृति दिने निर्णय पनि गरिएको छ।
मन्त्रिपरिषद्ले लोक सेवा आयोगको सिफारिस बमोजिम नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढुवा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको मन्त्री कार्कीको भनाइ छ।

