प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच रहेका सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनुरोध गरेका छन् ।
दुवै प्रधानमन्त्रीद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा देउवाले स्थापित संयन्त्रबाट उक्त समस्या समाधान गर्न मोदीलाई आग्रह गरिएको जनकारी दिए ।
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीले दिल्लीमा शनिवार भेटवार्ता गरेपछि दुवैजनाले संयुक्त रूपमा प्रेस सम्मेलन गरेका थिए ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, ‘हामी (देउवा र मोदी) ले सीमा विषयका बारेमा छलफल गर्यौं । र, मैले मोदीजीलाई यो विषय द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरेका छौँ ।’
देउवापछि बोलेका भारतीय प्रधानमन्त्री मोदीले सीमाको विवादको बारेमा कुनै धारणा राखेनन् । तर, उनले अवाञ्छित तत्त्वले नेपाल भारत सीमाको दुरुपयोग नगरुन् भन्नेबारे छलफल भएको बताए । त्यसका लागि दुवै देशले प्रतिरक्षा र सुरक्षामा गहन सहयोग कायम गर्ने विषयमा जोड दिएको उनले जानकारी दिए ।
उनले भारतले नेपाललाई सुख दुखको साथीका रूपमा हेरेको भन्दै नेपालप्रति आफ्नो मुलुकले सधैँ आत्मीयता प्रेरित भावना राख्ने बताए । उनले नेपालसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयलाई दुवै देशले उच्च प्राथमिकता दिने समझदारी गरेको भन्दै संयुक्त भिजन स्टेटमेन्ट ल्याउने सहमति भएको बताए ।
लामो समयदेखि अघि बढ्न नसकेको पञ्चेश्वर परियोजनाको काम तेज गतिमा अघि बढ्ने भन्दै उनले उक्त परियोजनाले दुई देशको सम्बन्धमा महत्त्वपूर्ण प्रभाव पार्ने बताए । नेपालसँग विद्युत् आयात गर्ने कैयौँ अरू प्रस्तावलाई स्वीकृत गर्न लागिएको उनले जानकारी दिए ।
नेपाली पक्षसँग जलविद्युत् क्षेत्रमा भारतीय कम्पनीहरूको भागिदारी बढाउने विषयमा पनि छलफल भएको भन्दै मोदीले नेपालले सौर्य ऊर्जासम्बन्धी अलायन्समा जोडिने गरी एउटा सम्झौतामा हस्ताक्षर गरेकोमा प्रसन्नता जनाए ।