पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गर्दै नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोटमा विजयी सुरुआत गरेको छ । योसँगै समूह बी मा रहेको नेपालले शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।
नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७औं ओभरमा सबै विकेट गुमाउँदै ७८ रन मात्रै बनाउन सक्यो ।
ब्याटिङ नचलेको खेलमा बलर चम्किँदा नेपालले ओमानमाथि सानदार जीत दर्ता गरेको हो । कुनै पनि नेपाली बलरले ओमानी ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् ।
ओमानका १० खेलाडीले दोहोरो अङ्क छुन सकेका थिएनन् । ओमानका लागि नासिम खुशीले १८ बलमा एक चौका र दुई छक्कासहित २४ रनबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
तर उनले पनि २ रनमा हुँदा जीवनदान पाएका थिए । अभिनाश बोहराको बलमा विकेटकिपर आसिफ शेखले उनको सामान्य क्याच छुटाउन पुगेका थिए ।
ओमानका जितेन्द्र सिंह ९, खावर अली ७, आमिर कालिम ९, आयान खान ३, जसिम मक्सुदले २ रन मात्रै जोड्न सके ।
पहिलो ओभरको तेस्रो बलमा कमल सिंह ऐरीले कश्यप प्रजापतिको विकेट लिँदै नेपाललाई शुरुआत दिलाएका थिए । अर्को ओभरमा जितेन्द्र मुखियाले आयान खानको विकेट लिए । पाँचौ ओभरमा ओपनर जतिन्दर सिंह ९ रनमा रन आउट भएपछि नेपाल खेलमा हावी भयो ।
सुरुवातदेखि नै उत्कृष्ट बलिङ प्रदर्शन गरेको नेपालका लागि कमल सिंह ऐरीले ३ विकेट, कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले ११ विकेट लिए ।
नेपालको ब्याटिङ:
खराब ब्याटिङ गरेको नेपाली टिमका कुनैपनि खेलाडीविच गतिलो साझेदारी हुन सकेन । नेपालका पाँच खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए । त्यस्तै, कप्तान सन्दीप लामिछाने र लोकेश बमले १६–१६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्रसिंह ऐरीले ११ रन बनाए ।
नेपालका ४ ब्याट्यम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमशः ५ र ४, विवेक यादवले ७, कमलसिंह ऐरीले १ रन बनाए ।
ओमानका स्पिनर खवर अलीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । बिलाल खानले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । फैज बट र जिशान मकसुदले १–१ विकेट लिए ।
यो प्रतियोगिता अघि ओमानसँग खेलिएको चार देशीय सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो ।
ग्लोबल छनोट र तालिका
विश्वकप छनोटमा आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् ।
प्रतियोगिता फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउनेछन् ।
तालिका
फागुन ७ (१९ फेब्रुअरी) – नेपालविरुद्ध फिलिपिन्स
फागुन ९ (२१ फेब्रुअरी ) – नेपालविरुद्ध क्यानडा
फागुन १० (२२ फेब्रुअरी ) – पहिलो सेमिफाइनल (समूह ए को विजेता र समूह बी को उपविजेता)
फागुन १० (२२ फेब्रुअरी) – दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता)
फागुन १२ (२४ फेब्रुअरी) – फाइनल (सेमिफाइनल ए र सेमिफाइनल बी बीचको विजेता)