सार्वजनिक मञ्चबाट घोर अमानविय घटनाको रुपमा प्रतिविम्बति गौर नरसंहार आफुले गराएको स्विकार गर्ने भौतिक पुर्वाधार मन्त्री रेणु यादवलाई पदमुक्त गर्न नागरिक समाजका अगुवाहरुले प्रधानमन्त्री शेरबहादुर देउवासंग माग गरेका छन् ।
१५ वर्षअघि भएको गौर हत्याकाण्ड दोर्होयाउने र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी मन्त्री यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्नुपर्ने उनीहरूको माग छ ।
२०६३ चैतमा तत्कालीन मधेशी जनअधिकार फोरमको अग्रसरतामा २८ जना माओवादी समर्थकको अनाहकमा ज्यान जाने गरी बर्बर र निर्मम आक्रमण भएको थियो । हत्याका अभियुक्तलाई न्यायको कठघरामा उभ्याउन नसकिएको अवस्थामा मन्त्री यादवको अभिव्यक्तिले उक्त हत्याकाण्डमा निजको दलको समेत संलग्नता भएको स्वीकारोक्ति सार्वजनिक गरेको देखिन्छ ।
उक्त घटनामा तत्कालिन फोरम, हाल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मुख्य योजनाकरका रुपमा अनुसंधानहरुको प्रतिवेदनमा देखिएको छ ।
मुलुकमा कानुनी राज्यको पालना गराउन र नागरिकलाई हत्याहिंशाबाट मुक्त गर्न राज्यको मुख्य जिम्मेवारी भएकोले त्यष्सको लागी प्रधानमन्त्री स्वयम अग्रसर हुनुपर्ने नागरिक समाज माग रहेको छ ।
आज ८ जना नागरिक अगुवाहरुले संयुक्त रुपमा सार्वजनिक अपिल जारी गर्दै यस्तो माग गरेका हुन ।
विज्ञप्तीमा भनिएको छ । ‘मुलुकमा कानूनको शासन कायम छ भन्ने अनुभूति जनतालाई गराउनु सरकारको पहिलो दायित्व हो र यसको अग्रसरता प्रधानमन्त्री शेरबहादुर देउवाले आफैं लिनु अति आवश्यक छ’, ‘अतः हामी प्रधानमन्त्री देउवा समक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं ।’
मन्त्री यादवले माघ ५ गते रौतहटको गौरमा आयोजित बलिदानी दिवसमा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको नामै लिएर गौर हत्याकाण्डमा जस्तै घेरा हालेर ज्यान लिने धम्की दिएकी थिइन्न् । मन्त्री पदको गरिमालाई विपरिते, आपराधिक मनोवृत्ति प्रष्ट पार्ने, पुरानो अपराध समेत सार्वजनिक रूपमा स्वीकार गर्ने यादव जनउत्तरदायी कुनै पनि पदमा बस्न अयोग्य रहेको नागरिक अगुवाहरूको ठहर छ ।
अपील जारी गर्नेहरूमा डा. केदारनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षित छन्न् ।