काम खोज्न सुर्खेतबाट काठमाडौंमा आएकी महिलाको वैदेशिक रोजगारीका लागि जाने तयारीमा रहेका युवकहरूले पालैपालो बलात्कार गरेका छन् ।
श्रीमान बेपत्ता भएपछि पुस १२ गते काठमाडौं आएकी ती महिलालाई वैदेशिक रोजगारीका लागि जाने तयारीमा रहेका ८ युवकहरूले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । एकजना अझै फरार छन् ।
नयाँ बसपार्कमा ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीस र अर्का एक जनालाई पक्राउ गरेको छ । ती एकजनाबाहेक सबै मुगु जिल्लाका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले महिला पुस १२ गते साँझ काठमाडौं पुगेको र सोही साँझदेखि १३ गते बिहानसम्म मित्रनगरका विभिन्न गेष्ट हाउसमा लगेर युवकहरूले बलात्कार गरेको बताए ।
प्रहरीका अनुसार युवराजले सुरुमा उनलाई फकाएर गेस्ट हाउसमा लगेका थिए । त्यसपछि विभिन्न व्यक्तिले जबर्जस्ती करणी गरेको भन्दै उजुरी परेको छ ।
महिलाको मंगलबारै प्रसूतिगृहमा स्वास्थ्य परीक्षण पनि गरिएको छ । घटनाबारे प्रहरी प्रभाग, बसपार्कमा जानकारी आएलगत्तै काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरी सहितको टोली त्यहाँ पुगेको थियो । त्यसपछि सीसी टीभी फुटेज र प्राविधिक विश्लेषण गरेर घटनामा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।