काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा युवा नेता सरोज केसी निर्वाचित भएका छन्।
बिहीबार राति सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार केसीले ४ सय ७२ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी ओमप्रकाश गुरुङलाई ६१ मतले पछि पारे। कुल ९ सय ७० मत खसेको निर्वाचनमा गुरुङले ४ सय ११ मत प्राप्त गरे भने सभापतिका अर्का उम्मेदवार अप्सरा श्रेष्ठले ७० मत ल्याइन्।
यसैगरी क्षेत्रीय समितिको सहसचिव पदमा प्रताप बानियाँ निर्वाचित भएका छन्। उनले २ सय ७७ मत प्राप्त गरेका छन्। विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसमा सक्रिय भएका केसी लामो समयदेखि पार्टी राजनीतिमा संलग्न रहँदै आएका छन्। कास्की क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा ‘क’ को सभापतिमा नरेन्द्र थापा ‘नरेन’ सर्वसम्मत चयन भएका छन्। प्रदेशसभा ‘ख’ को सभापतिमा भने अर्जुन गुरुङ निर्वाचित भएका छन्।