शहिद स्मारक ‘ए’ डिभिजन लिग खेलाउने नौ जना फिफा रेफ्रीहरुले बिहीबार सामूहिक राजीनामा दिएका छन् । रेफ्रीहरुले अखिल नेपाल फुटबल संघ ९एन्फा० का महासचिव इन्द्रमान तुलाधरलाई राजीनामा बुझाएका हुन् ।
एन्फाले लिग चलिरहेको समयमा रेफ्रीको ‘फिटनेश लेभल टेस्ट’ माग गरेको भन्दै रेफ्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । राजीनामा बुझाउनेमा फिफा रेफ्री नविन्द्र महर्जन, प्रकाशनाथ श्रेष्ठ र प्रज्वल क्षेत्री तथा फिफा असिस्टेन्ट रेफ्रीहरु नानीराम थापा, विक्रम चौधरी, किशन यादव, युनाल मल्ल, माधव खत्री र सहदेव श्रेष्ठ छन् ।
रेफ्रीहरुले फिटनेश टेस्ट गर्ने भए लिग रोकेर फिटनेशका लागि समय दिनुपर्ने माग पनि राखेका छन् । एन्फाका महासचिव इन्द्रमान तुलाधरले तीन तीन महिनामा रेफ्रीको ‘फिटनेश लेभल टेस्ट’ गरिनु पर्ने फिफाको निर्देशन अनुसार नै रेफ्रीको ‘फिटनेश लेभल टेस्ट’ माग गरिएको बताए ।
शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबारदेखि दशरथ रंगशालामा तेस्रो चरणको खेल सुरु हुँदैछ । रेफ्रीका कारण शुक्रबारको खेल नरोकिने जानकारी पनि तुलाधरले दिए ।