जनता समाजवादी पार्टी नेपाल (जसपा) कार्यकारिणी समितिको बैठक ४ दिनदेखि काठमाडौंमा जारी छ ।
मंसिर ५ गतेदेखि जारी बैठकमा बुधवार अचानक प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको राजिनामा माग गरिएको छ ।
पार्टीमा छलफल नै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने काम गरेको भन्दै मुख्यमन्त्री राउतको राजीनामा माग गरिएको हो ।
केही दिनअघि मन्त्री पदबाट बर्खास्त गरिएका रामनरेश रायले मुख्यमन्त्री गद्दीको राजिनामा माग गरेका हुन् ।
पार्टी निर्णयबिनै आफुलाई मन्त्री पदबाट बर्खास्त गरी ठुलो अपमान गरेको भन्दै रायले गद्दीको राजीनमा माग गरेका हुन् ।
मुख्यमन्त्री गद्दीमाथी भ्रष्टाचारको आरोप लागेको र उनि पार्टी निर्णयबिनै सरकार सञ्चालन गरिरहेको भन्दै उनले राजिनामा दिनुपर्ने माग रायले राखेका थिए ।
बैठकमा आक्रामक रुपमा प्रस्तुत हुंदै नेता रायले पार्टी जोगाउन मुख्यमन्त्री गद्दीभन्दा आफ्नो योगदान बढी रहेको भन्दै बिना निर्णय बर्खास्त गरिनु ठिक नभएको बताए ।
उनले आफु गठबन्धनबाट सरकारमा आएको र सरकारको वरिष्ठ मन्त्री भएको हुदां पदमुक्त गर्नुअघी छलफल गर्नुपर्ने भएतापनी आफुलाई अपहेलित गर्नैका लागि त्यसो नगरिएको बताए ।