जनकपुर उपमहानगरपालिकामा डा. सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको ‘जन कारवाही’बाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी तनावमा परेका छन् ।
भ्रष्टाचारीलाई नछोड्ने भन्दै जनमतका कार्यकर्ता आफैंले कारवाही गर्न थालेपछि ‘बेटी पढाउ, बेटी बचाउ’ योजनाअन्तर्गत साइकल खरिदमा भ्रष्टाचारका आरोपित मुख्यमन्त्री गद्दी व्यापक तनावमा परेको बुझिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिद सम्बन्धी कागजहरु अहिले अध्ययन गरिरहेको छ । जनमत पार्टीले भने अख्तियारको बर्दिबासस्थित प्रादेशिक कार्यालयमा मुख्यमन्त्री राउतलाई कारवाही गर्न ज्ञापन बुझाएर धर्ना र प्रदर्शन गरिसकेको छ ।
बिहिवार जनमतका कार्यकर्ताले ढल–पानी निकासका लागि काम नगरेको र भ्रष्टाचार गरेको भन्दै जनकपुरको खानेपानी कार्यालयका प्रमुख राजेश कुशवाहालाई हिलो छ्यापेर बजारभरी घुमाएको थियो ।
मुख्यमन्त्री गद्दीलाई पनि भ्रष्टाचारको ठुलो आरोप लागेको र झन् जनमत पार्टीले त्यसको विरोध गरिरहेको अवस्थामा त्यसबाट प्रदेश २ सरकार भयभित भएको जानकारहरुको बुझाइ छ ।
जनमत पार्टीको भएकै कारण मुख्यमन्त्री गद्दीले आज प्रादेश २ का प्रादेशिक शुरक्षा प्रमुखहरुसंग सुरक्षा व्यवस्थाबारे विशेष बैठक गरेका छन् ।
जनकपुरस्थित मुख्यमन्त्रीको सरकारी निवासमा भएको बैठकमा जनमत पार्टीले गरेको जन कारवाही र त्यस पश्चात उत्पन्न परिस्थितिका बारेमा छलफल भएको बुझिएको छ ।
सरकारी कर्मचारीमाथिको जनमतको कारवाही र थप कारवाही गर्ने धम्कीबाट प्रदेशका कर्मचारी, जनप्रतिनिधिहरुलाई सुुरक्षित राख्न विशेष सुरक्षा प्रदान गर्न मुख्यमन्त्री गद्दीले सुरक्षा निकायका प्रमुखहरुलाई आग्रह गरेको बुझिएको छ ।
मुख्यमन्त्रीको सञ्चार सोतबाट उक्त बैठक नियमित भएको भनिए पनि, त्यहाँ उठेका मुद्दा जनमत पार्टी र जनकपुर घटना केन्द्रित नै रहेको स्रोतको दाबी छ । बैठकमा मुख्यमन्त्री गद्दीको हाउभाउ एकदमै अतालिएको र तनावपुर्ण देखिएको श्रोतले बतायो ।
बैठकमा मुख्यमन्त्रीसहित प्रदेशका मन्त्रीहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआईजी, नेपाली सेनाका अधिकारीलगायत सहभागि थिए ।
यता, जनमत पार्टीले जनकपुरमा गरेको जनकारवाही पश्चात उसको १७ जना नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै आजदेखि विरोधका कार्यक्रमहरु शुरु गरिसकेको छ ।
