विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालका सांसद गगनकुमार थापा निर्वाचित भएक छन्।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा उनी सन् २०२१ देखि २०२३ का लागि निर्वाचित भएका हुन्। बोर्ड सदस्यका रुपमा उनले विश्वका १४० भन्दाबढी देशका सांसदसँगै समावेशी विकासका लागि काम गर्ने भएका छन्।
उनले यस अवसरलाई आफूले सिक्ने, सम्बन्ध विस्तार गर्ने र सक्दो योगदान गर्ने मौकाका रुपमा उपयोग गर्ने बताए। उनले सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको अग्रपङ्क्तिका लागि आफू निर्वाचित भएको खबरले उत्साहित बनाएको उल्लेख गरेका छन्।
नेपाली कांग्रेसबाट उम्मेदवार भई काठमाडौँको क्षेत्र नं ४ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। थापा प्रतिनिधिसभाका लागि तेस्रो पटक सांसद छन्। पहिलो पटक समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका उनी बाँकी दुई पटक भने प्रत्यक्ष निर्वाचित भएका हुन्।