गुल्मीमा बुधबार भएको जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपालिका– ४ अन्तर्गत दोभान नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
दुर्घटनामा परी चालकसहित सातजना घाइते भएका र उनीहरुलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास लगिएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेको अझै सनाखत हुन सकेको छैन।
प्रहरीका अनुसार दुर्घटना भएको उक्त जीप सडकबाट तीन सय मिटर तल खसेको छ। दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।