विपद् विज्ञ तथा पुर्वमन्त्री गंगालाल तुलाधारले भारतका कारण नेपालको तराई क्षेत्र बाढीको उच्च जोखिममा परेको टिप्पणी गरेका छन्। नेकपा एमालेका नेता समेत रहेका उनले भारतले बलपुर्वक विभिन्न स्थानमा बाँधलगाएतका संरचना बनाउदाँ तराईमा जोखिम बढेको बताएका हुन्। ‘२६ देखी २८ ठाँउमा भारतले जबरजस्ती बाँधजस्ता संरचना बनाएका छन्,’ उनले भने, ‘ती कारणले गर्दा अब ढुबान हुने हाम्रो पालो हो।’
भारतीय पक्षले बदमाशीपुर्ण तरिकाले कोशी ब्यारेजका ढोका समयमा नखोलीदिँदा समस्या भइरहेको विपद् विज्ञ तुलाधरले बताए। ‘प्रधानमन्त्री केपी ओलीले भारतका प्रधानमन्त्री मोदीजीसँग ढोका खोलिदिनुपर्यो भन्न सक्नुपर्यो,’ यस्तो समयमा कुटनीतिक पहलकदमी गर्नु आवश्यक रहेको बताउँदै उनले भने, ‘भारतको ज्यादतीको कारणले गर्दा, उसले समयमा ढोका नखोलिदिएको कारणले गर्दा, उसले बनाएको संरचनाहरुले गर्दा एक जना मान्छे पनि ढुबेर मर्यो भन्न नपरोस।’
विपद् व्यवस्थापनको पुर्वतयारीस्वरुप सरकारले अहिलेदेखी नै व्यापक रुपमा आश्रयस्थलहरुको व्यवस्था गर्नुपर्ने पुर्वमन्त्री तुलाधरले सुझाव दिए। विपद्को समयमा कोरोना महामारीको समेत उच्च जोखिम हुने जिकिर गर्दै उनले व्यवस्थित र सुरक्षित आश्रयस्थल निर्माणमा शिघ्र अघि बढ्न सरकारसँगग आग्रह गरे। ‘जिल्ला विपद् व्यवस्थापन समिती छ। मेयर–अध्यक्षहरुको अध्यक्षतामा स्थानिय विपद् व्यवस्थापन समिती भन्ने छ,’ उनले भने, ‘उनीहरुले खाद्यानलगायतका अत्यावश्यक सामग्रीहरुको व्यवस्था गर्नुपर्यो।’
तराईको सन्दर्भमा रबर ढुङ्गाको ठुलो महत्व हुने बताउँदै विपद् विज्ञ तुलाधरले तत्काल त्यसमा अत्यावश्यक सामग्रीहरु खरिद गर्नुपर्नेमा जोड दिए। ‘त्यो रबर बोर्ड प्रयाप्त मात्रामा छैन भने आजै किनीहाल्नुपर्यो,’ उनले भने, ‘सार्वजनिक खरिद ऐनले हामीलाई रोक्यो भन्न पाइँदैन्, बहानावाजि गर्न पाइँदैन। तत् क्षण पैसा निकासा गरेर किन्नुपर्यो।’ यस्ता सामग्रीहरु खरिद गर्नका लागि यथेष्ठ बजेट रहेको पनि उनले स्पष्ट पारे।
विपद् व्यवस्थापनमा सरकारले चरम लापरवाही गरिरहेको पुर्वमन्त्री समेत रहेका विपद् विज्ञ तुलाधरले बताए। एमाले नेता समेत रहेका तुलाधरले सबै राजनीतिक दलहरु सकृय भएर अघि आउनुपर्नेमा बिशेष जोड दिए। सबै राजनीतिक दलहरुले आफ्ना कार्यकर्ताहरुलाई राहत र उद्वारका लागि अनिवार्य रुपमा खटाउनु पर्ने उनको ठम्याई छ।
विपद् विज्ञ तुलाधरले विपद् व्यवस्थापन र उद्वार खट्ने सेना र प्रहरीको सन्दर्भमा पनि ध्यान दिनुपर्ने बताए। उनले सेना र सुरक्षाकर्मीहरुको मनोबल बडाउनका लागि उचित भत्ताको व्यवस्था गरेर मनोबल बढाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए। उनले उद्वारमा खट्ने सेना, प्रहरीलगायतले प्रयोग गर्ने श्रोत र साधनको गुणस्तर र प्रयाप्ततामा पनि ध्यान दिनुपर्ने बताए।