काठमाडौँ । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ। त्यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सम्बन्धित क्षेत्रका केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ सभासमक्ष प्रस्तुत गर्ने कार्यक्रम छ।
प्रतिनिधिसभामा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले चारवटा विधेयक पेस गर्ने कार्यसूचीसमेत रहेको छ। उनले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्। यता, दिउँसो १ः१५ बजे बस्ने राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ। यससँगै आजका दुवै सदनका बैठकमा विभिन्न कानुनी तथा नीतिगत विषयमाथि छलफल र प्रक्रिया अघि बढ्नेछ।