जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीका नेताहरु करोडाैँमा बिकेको आरोप लगाएका छन्। एक टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा उनले जसपाका सांसदहरु मन्त्री र करोडपती बन्ने प्रलोभनमा परेर सरकारको पक्षमा लागेको दावी गरे। सरकार जोगाउन आफ्ना सांसदहरु पैसा दिएर खरिद गरिएको उनले दावी गरेका हुन्।
अध्यक्ष यादवले महन्थ ठाकुर–राजेन्द्र महतो समुहमा रहेकाहरुले पद र पैसाको प्रलोभनका कारण सरकारलाई समर्थन गरेको टिप्पणी गरे। ‘सबै मन्त्री र करोडपती बन्ने सपना लिएर गएका हुन। करोडपती त कति जनालाई बनाए पनि,’ उनले भने, ‘यो खरिद भन्ने त दिनदहाडै भएको कुरा हो।’ महन्थ–राजेन्द्र समुहका नेताहरुप्रति कटाक्ष गर्दै अध्यक्ष यादवले थपे, ‘अहिले धोका दियो, मन्त्री बनाएन भनिराखेका छन्। ती मान्छेहरु कहाँ पुग्छन् ठेगान छैन्। तर, उनीहरुले चिनिसके। कुरा बुझिसके जस्तो लाग्छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र समाप्त पार्न खोजेको बताउदैँ अध्यक्ष यादवले महन्थ–राजेन्द्र समुह ओलीको चालमा फसेको टिप्पणी गरे। ‘जसपाका केहि साथीहरु सानोतिनो मन्त्रालयको लोभमा, यसो मौका पाई हालिन्छ कि, दान–दक्षिण जम्मा गरिहालिन्छ की, यसो कमिसन–समिसनको लोभमा उहाँहरु फस्नुभयो,’ उनले आरोप लगाए।
साना नेताहरु पद र पैसाको प्रलोभनमा फसेको भएपनि मुख्य नेताहरु विदेशी शक्ति (भारत) को इशारामा चलेको अध्यक्ष यादवले बताए। ‘मुख्य नेताहरुले के भन्छन भने, हामी आफ्नो मनले चल्या छौ र? आफुनो बुद्दि–बिवेकले काम गर्या छौ र? हामीलाई जा भन्यो हामी आयौ। अब जे परिणाम होला उनीहरुले व्यहोर्ला। हामी आफ्नो मनले काम गर्ने त हैन। आदेशपालक न हौँ। आदेश दियो हामी आयौ।’ उनले थपे, ‘कसले आदेश दिएको भनेर मैले सोधे। कसले दिएको छ भनेर सबैलाई थाहा छदैँ छ नि भन्छन्।’
अध्यक्ष यादवले महन्थ–राजेन्द्र समुहसँग मन्त्रालय हत्याउने बाहेक आफ्नो कुनै एजेण्डा नभएको दावी गरे। मधेशको मुद्दा सम्बोधन भयो भनेर महन्थ–राजेन्द्र समुहले मधेशी जनताको आँखामा छारो हालेको अध्यक्ष यादवको कथन छ। ‘मुद्दा–सुद्दा दुई–चार वटा तलमाथी गरिदिने हो,’ उनले थपे, ‘ती मुद्दाहरु खारेज गर्नुस, रेशम चौधरीलगायतलाई रिहा गर्नुस भनेर सबैले भनेको हो, यी भनेको प्रशासनिक मुद्दा हो।’ महन्थ समुह राजनैतिक मुद्दामा प्रवेश नै नगरेको यादवको भनाई छ।
अध्यक्ष यादवले आफ्ना पार्टीका केहि नेताहरुले बाटो बिराएको भन्दै पार्टीमा फर्किएर आउन आग्रह गरे। ‘फुट्यो भन्दा पनि चोइटियो भनौ। फुट्नु अलग कुरा हो, चोइटिनु अलग कुरा हो,’ जसपा नफुटेको दावी गर्दै उनले भने, ‘एउटा रुखको दुई वटा बोक्रा झरेर केहि हुनेवाला छैन्।’