दार्चुला– ४० मेगावाट क्षमताको अपरचमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले आज संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
उक्त आयोजना निजी क्षेत्रबाट निर्माण हुन लागेको सुदूरपश्चिमकै ठूलो आयोजना हो । २० महिनाभित्र निर्माण सक्ने लक्ष्यसहित आयोजनाको शिलान्यास गरिएको कम्पनीका सञ्चालक त्रितालले बताए । आयोजनाको कूल लागत ७ अर्ब ४० करोड छ ।
सो आयोजनामा छ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । हिमालयन बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकले ५ अर्ब १८ करोड लगानी गरेका छन् । सञ्चालक त्रितालका अनुसार बैंक तथा वित्तीय संस्थाले गर्ने ऋण लगानी कूल लागतको ७० प्रतिशत हो । ३० प्रतिशत (२ अर्ब २२ करोड) स्वपुँजी लगानी हुने जनाइएको छ ।
शिलान्याससँगै आयोजनाको संरचना निर्माणको काम सुरु गरिएको छ । २०५ मिटर हेड (उचाइ) रहेको सो आयोजनाका लागि ३.२ मिटर व्यास (डायमिटर) को करिब ६ किलोमिटर पाइपलाइन निर्माण हुनेछ । अपी हिमाल गाउँपालिका–५ ओखलमा बाँध बाँधेर पाइपलाइनमार्फत ल्याइएको पानी मार्मा गाउँपालिका–२ घट्टेगाडमा निर्माण हुने विद्युत् गृहमा खसालिनेछ ।
आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको बलाँचस्थित १३२ केभी सबस्टेसनमा जोडिनेछ । सो आयोजना प्राधिकरणले निर्माण गरेको ३० मेगावाट क्षमताको चमेलियाभन्दा करिब १३ किलोमिटर माथि पर्छ । बलाँच सबस्टेसन चालू अवस्थामा रहेकाले विद्युत् जोड्न कुनै समस्या नहुने त्रितालले बताए । आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।
कम्पनीले यसअघि ८।५ मेगावाट क्षमताको नौगाड र आठ मेगावाट क्षमताको माथिल्लो नौगाड आयोजनाको निर्माण गरी प्रसारण प्रणालीमा जोडिसकेको छ । अपर चमेलियाको निर्माणपछि कम्पनीले लगानी गरेका आयोजनाको क्षमता ५६.५ मेगावाट पुग्नेछ ।