काठमाडौं– शहरी क्षेत्रमा अप्राकृतिकरूपमा जमेको पानी मानव स्वास्थ्यका लागि हानिकारक हुने जानकारहरुले बताएका छन् । सरुवा रोगहरु फैलिन सक्ने भएकाले मानव स्वास्थ्यका लागि खतरा हुने उनीहरुले औँल्याएका हुन् ।
बर्सात शुरु भएयता भरतपुर महानगरपालिकाको वडा नं. १०, ११, १२, ७ लगायतका मुख्य शहरी क्षेत्रमा पानी जमेको छ । घरहरुका बीचबीचमा जमेको पानी तलाउ जस्तै देखिन्छन् ।
वरिष्ठ फिजिसियन डा विजय पौडेल अप्राकृतिकरूपमा जमेको पानीले महामारीसमेत ल्याउनसक्ने बताए । जमेको पानीमा शौचालय, स्नानगृहलगायतका पानी समेत मिसिन सक्ने भन्दै उनले भने, ‘यसले झाडापखाला लगायतका महामारी रोग निम्त्याउन सक्छ ।’
डेङ्गु, टाइफाइड, भाइरल र ब्याक्टेरियल रोगहरु जमेको पानीबाट फैलिन सक्दछन् । जमेको प्रदूषित पानीले वातावरणसमेत असन्तुलित हुने पौडेलको भनाइ छ । मौसम परिवर्तनको यो समयमा मानिसको प्रतिरक्षा प्रणाली कमजोर हुने भन्दै उनले यस्तो बेला रोग फैलिन सम्भावना बढी रहनेतर्फ सचेत गराएका छन् ।