काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पुनः खटपट सुरु भएको छ ।
शुक्रबार ओली–प्रचण्डले पार्टीभित्रको विवाद समाधान गर्ने भन्दै ६ सदस्यीय कार्यदल बनाएका थिए । कार्यदल पार्टीभित्रको विवाद मिलाउने भन्दै दैनिक बैठक बसिरहेको छ । तर ओली–प्रचण्डबीच भने पुनः खटपट सुरु भएको एक स्थायी कमिटी सदस्यले बताए ।
मंगलबार दुई अध्यक्षबीच भेटवार्ता हुँदा ‘पार्टीभित्रको विवाद हल गर्ने भन्दै कार्यदल बनाउने तर तपाईं एकलौटी रूपमा नियुक्ति गर्दै हिँड्न थालेपछि कसरी सहमति हुन्छ’ भन्दै प्रचण्डले ओलीलाई प्रश्न गरेको र यसपछि खटपट सुरु भएको उनले बताए ।
शुक्रबार बनाइएको कार्यदलले ल्याएको प्रस्तावअनुसार र आपसी समझदारीमा मात्र पार्टी र सरकारले निर्णय गर्ने सहमति भएको थियो । तर सहमति भएको पाँच दिनमा नै ओलीले आफूखुसी नियुक्ति गर्न थालेपछि पुनः खटपट सुरु भएको प्रचण्ड निकट एक नेताले बताए ।
‘तर, कार्यदलले प्रस्ताव नल्याउँदै तपाईं मन्त्रिपरिषद्को बैठक बस्दै धमाधम एकलौटी रूपमा नियुक्ति दिन थाल्नुभयो । यसरी पार्टीभित्रको विवाद समाधान हुँदैन, झन् बढ्छ । जुन निर्णय गरे पनि पार्टीमा छलफल गरेर गराैं । नत्र विवाद समाधान हुँदैन झन् बढ्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने ।
तर, सुवास नेम्वाङले छलफल हार्दिकतापूर्वक सम्पन्न भएको बताए । उनले भने, ‘उहाँहरुबीच कुनै किसिमको खटपट भएको छैन । विषयमा छलफल हुनुलाई खटपट मान्नुहुँदैन ।’
कार्यदल पार्टीभित्रको विवाद मिलाउने भन्दै बैठक बसीरहेको छ तर १ भदौमा ओलीले मन्त्रिपरिषद् बैठकबाट प्रेस काउन्सिल नेपालको अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेका छन् । उनलाई केही दिनअघि मात्र काउन्सिलको सदस्यमा नियुक्त गरिएको थियो । योभन्दा पहिले किशोर श्रेष्ठ कार्यवहाक अध्यक्ष थिए ।
१ भदौमा नै युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा देवराज रोकालाई नियुक्त गरिएको छ । त्यस्तै, तीन जना कर्मचारीलाई राजदूतमा सिफारिस गरिएको छ । जसमा परराष्ट्र सेवामा रहेका सहसचिव गहेन्द्र राजभण्डारीलाई बेल्जियम र युरोपियन युनियनको राजदूत, परराष्ट्रकै सेवामा रहेका तपस अधिकारीलाई पाकिस्तानको राजदूत र रामकाजी खड्कालाई जर्मनीको राजदूतमा सिफारिस गरिएको छ ।
तर भण्डारीको नियुक्तिलाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेको छ ।