काठमाडौं– वर्षा र फोहर व्यवस्थापन गर्ने निजी कम्पनी सक्रिय नहुँदा काठमाडौं महानगरपालिकाका केही स्थानमा नियमित फोहर संकलन हुन सकेको छैन ।
ठमेल क्षेत्रमा फोहरका डंगुर छन् । कामपा वातावरण विभागका प्रमुख हरिकुमर श्रेष्ठका अनुसार फोहर संकलन गर्ने निजी कम्पनी कोरोनाको कारण सबै काममा नआएकाले फोहर व्यवस्थापनमा केही समस्या आएको हो ।
व्यवस्थापन हुन नसकेको केही स्थानका फोहर पनि केही दिनभित्र उठाइसक्ने पनि प्रमुख श्रेष्ठको भनाइ छ । हाल महानगर काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर ६० प्रतिशत निजी कम्पनीले र ४० प्रतिशत कामपाले व्यवस्थापन गर्दै आएको छ ।
उपत्यकाको १८ स्थानीय तहको फोहर विगत १३ वर्षदेखि नुवाकोटको सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसैबीच कामपाले वातावरण व्यवस्थापन विभागले एरोपोनिक प्रणालीबाट ट्राफिक आइल्यान्डको सुन्दरता बढाउने सम्झौता खारेज गरेको छ ।–रासस