काठमाडौं । रसुवाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहन आचार्यले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच बलियो समन्वय आवश्यक रहेको बताएका छन्।
बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै आचार्यले बाढीका कारण रसुवाका नागरिकले ठूलो क्षति र पीडा भोगिरहेको बताए। उनका अनुसार जिल्लामा बाढीबाट क्षति नपुगेको घर भेट्नसमेत कठिन अवस्था रहेको छ।उनले संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर तत्काल राहत र पुनर्स्थापनाको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराए। विगतमा भूकम्पपछिको पुनर्निर्माणमा भएको ढिलाइबाट पाठ सिक्दै यसपटक पुनर्निर्माणको काम लामो समयसम्म अल्झाउन नहुने उनको भनाइ छ।सांसद आचार्यले बाढीका कारण अवरुद्ध सडक तथा यातायात सञ्जाल तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन पनि माग गरे। सडक सम्पर्क पुनःस्थापित भएपछि मात्र प्रभावित क्षेत्रमा राहत र आवश्यक सामग्री सहज रूपमा पुर्याउन सकिने उनले बताए।यस्तै, बाढीको त्रास र विपद्को असरले स्थानीय बासिन्दाको मानसिक स्वास्थ्यमा समेत समस्या देखिन थालेकाले राहतसँगै मनोसामाजिक सहयोगलाई पनि प्राथमिकता दिनुपर्ने आचार्यले बताएका छन्।