काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बाढीपछिको अवस्था र उद्धार तथा राहतका विषयमा तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल थालेका छन्।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न परिस्थितिबारे विस्तृत जानकारी लिन प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग छलफल सुरु गरेका हुन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन्। छलफलमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण र घाइतेको उपचारलगायत विषयमा जानकारी लिने तथा आवश्यक निर्देशन दिने बताइएको छ। प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।