काठमाडौं । नेकपा एमालेका सांसद गुरु प्रसाद बरालले जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी, हिंसा र मृत्युका घटनाको निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै बरालले युवा तथा विद्यार्थीले सुरु गरेको शान्तिपूर्ण आन्दोलन पछिल्लो चरणमा योजनाबद्ध रूपमा हिंसात्मक बनेको दाबी गरे। उनले सार्वजनिक तथा निजी सम्पत्ति, सरकारी कार्यालय, अदालत र सुरक्षा निकायमा भएको क्षतिको वास्तविक कारण पत्ता लगाउन आवश्यक रहेको बताए।सांसद बरालले संसद् भवन, शीतल निवास, सिंहदरबार तथा विभिन्न सरकारी कार्यालयमा भएको आगजनी र तोडफोडबारे गम्भीर अनुसन्धान हुनुपर्ने बताए। त्यस्तै, अदालतका भवन, सरकारी अभिलेख, कारागार, बैंक, होटल तथा निजी व्यावसायिक प्रतिष्ठानमा भएको क्षतिको पनि छानबिन आवश्यक रहेको उनको भनाइ छ।
उनले आन्दोलनका क्रममा सुरक्षा निकायमाथि भएको आक्रमण, हतियार लुटिएको भनिएको घटना र ठूलो संख्यामा सरकारी तथा निजी सवारीसाधनमा भएको क्षतिबारे समेत सत्यतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराए।यस्ता घटनालाई सामान्य रूपमा नलिई दोषी पहिचान गरी कानुनी प्रक्रियामा ल्याउनुपर्ने बरालले बताए। उनले भदौ तेइस र चौबीस गते भएका घटनाको अनुसन्धान, दोषीमाथि कारबाही तथा भएको राष्ट्रिय क्षतिको क्षतिपूर्तिका लागि प्रतिनिधिसभाले प्रभावकारी भूमिका खेल्नुपर्ने माग गरे।यसैबीच, सांसद बरालले रसुवाको भोटेकोशी बाढीबाट भएको क्षतिको उद्धार, राहत र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय सर्वदलीय संसदीय समिति गठन गर्न पनि सरकारसँग आग्रह गरेका छन्।